८३ वर्षीय जगमोहन बामीको एकल साँझ सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ कात्तिक

नेपाल भाषा र नेपाली संगीतमा सात दशक देखि निरन्तर योगदान दिएका उनले शनिबार विभिन्न कलाकारका साथमा आफ्ना एकल गीत सँगीत प्रस्तुत गरे ।

गोदावरी साहित्य प्रतिष्ठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्ररम्भमा कार्यक्रममा वाङमय सताब्दी पुरुष सत्यमोहन जोशी, सँगीतकार जुगल डँगोल र गायक स्वयँ जगमोहन बामीलाई गोदावरी साहित्य परिषदका तर्फबाट कार्यक्रममा सम्मान गरियो । त्यसपछि उनको एकल साँझ सुरु भएको थियो ।

काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न ‘जगमोहन बामी एकल संगीत साँझ’ कार्यक्रममा बामीको डेढ दर्जन गीत संगीत प्रस्तुत गरियो । कार्यक्रममा निशा देसारलगायत विभिन्न कलाकारसँग जगमोहन बामीले पनि केही गीत सुनाए । कार्यक्रममा एउटा बाहेकबाँकी सबै नेपाल भाषामा गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जगमोहनद्धारा संगीतबद्ध गीतहरु बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ, योगेश बैद्य, ज्ञानु राणा, जुजुकाजी रँजित, संगीता शाक्य, निशा देसार, सानुबाबु महर्जन, उत्तम महर्जन, प्रताप दास, डा. भाष्कर मेहना कायस्थ, कैलाश मेहेर कायस्थ, चैतन्य मोहन कायस्थले गाए । प्रत्यक्ष सँगीतमा प्रस्तुत गरिएको सो एकल साँझको सँगीत सँयोजन जुगल डँगोलले गरेका थिए ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषासँगै नेपाली भाषाको गीत सँगीतमा जगमोहनको अतुलनीय योगदान रहेको बताए ।

ललितपुरका सँसाद नवराज सिलवालले जगमोहनको योगदानको प्रसँसा गरे ।  गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यो कार्यक्रम आयोजना गर्नुको कारणबारे प्रकाश पारे ।

आयोजक संस्थाका अध्यक्ष बरिष्टकुमार अधिकारी र कार्यक्रम संयोजक हरिराम महर्जनले कार्यक्रमबारे प्रकाश पारेका थिए ।