१२ वर्षपछि गायनमा फर्किएका सचिनको १५ लाखको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ मँसिर

१२ वर्षपछि गायनमा फर्किएका अग्रज गायक सचिन रौनियारले आफ्नो नयाँ गीत ए मान्छे…को भिडियो काठमाडौंमा एक समारोहबीच रिलिज गरेका छन् ।

उनले यो भिडियोमा खर्च पनि त्यत्तिकै गरेका छन् । भिडियोमा १५ लाख भन्दा बढी लागत लागेको निर्माण पक्षको भनाई छ । नयाँ गीत ए मान्छेको विमोचन आफ्ना अधिकांश पुराना साथीलाई समेटेर गरेका हुन् । गायक सचिनले यसअघि आफूले एनालग प्रविधिबाट मात्र गीत रेकर्ड गरेर गाउँदै आएको र डिजिटल युगको सुरु भएपछि बल्ल १२ वर्षपछि ए मान्छेमार्फत श्रोतामाझ आएको बताए ।

२०४३ सालमा पहिलो एल्बम ‘सर्च’ मार्फत श्रोतामाझ गायकका रूपमा आफू आएको र आफू यसअघि स्पर्स, नशा, सारेगमासहित १२ वटा गीतिसंग्रह श्रोतामाझ ल्याइसकेको पनि सचिनले बताए,‘मैले गीतबाट मनोरञ्जनसँगै अनेकतामा एकताको संदेशसमेत दिने कोसिस गरेको छु, प्रकाश सापकोटाले लेखेको यो गीतमा जितेन लेप्चाले समसामयिक तर सशक्त संगीत दिएका छन्,’ उनले भने ।

गीतको भिडियोमा लाखे, धिमे, चण्डी, दुर्गा, हुड्केलीसहित करिब एक दर्जन नृत्य समेटिएको यो गीतको भिडियोमा सय जनाभन्दा बढीको नृत्य छ । 

भिडियोको निर्देशक सुब्रतराज आचार्यका अनुसार एकताको सन्देश बोकेको यो गीतलाई भिडियोमार्फत पनि एकता देखाउन यति धेरै जातजाति र समुदायको नृत्य समेटिएको हो । नृत्यको निर्देशन गम्भीर विष्टले गरेका हुन् ।

२०४० देखि २०६० सम्मका लोकप्रिय गायक सचिनको भनौं कि छैन भनौं…, यो वनमा छैन क्यारे न्याउली…, ए माया कहाँ छौ कहाँ…, झन्झन् बढ्यो याद तिम्रो… जस्ता थुप्रै लोकप्रिय गीतहरु छन् ।