सम्पादनमा नहकुललार्ई राष्ट्रिय चलचित्र पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असार

नेपाल सरकार, चलचित्र विकास बोर्डद्धारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ मा चलचित्र सम्पादक नहकुल खड्का सर्वोत्कृष्ट चलचित्र सम्पादनमा पुरस्कृत भएका छन्। उनलाई शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार प्रदान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यो पुरस्कार प्रदान गरेका हुन् ।

यस वर्ष ‘के घर के डेरा ः घर नम्बर २’, ‘कोसेढुंगा’ र ‘हरिबहादुरको जुत्ता’ लगायतका चलचित्रमार्फत पुरस्कार प्रतिस्पर्धामा सहभागी भएका थिए। ‘के घर के डेरा ः घर नम्बर २’ बाट उनले ग्रामीण फिल्म फेस्टिभलमा समेत उत्कृष्ट सम्पादकको अवार्ड जितेका थिए ।

खड्काले करिब दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन् । धनकुटामा जन्मिएका खड्का १९ वर्षदेखि चलचित्र सम्पादन क्षेत्रमा सक्रिय छन्। सहायक सम्पादकबाट यात्रा सुरु गरेका उनले सहसम्पादक हुँदै मुख्य सम्पादकका रूपमा आफ्नो पहिचान स्थापित गरेका हुन्। उनले हालसम्म २०० भन्दा बढी चलचित्रमा विभिन्न भूमिकामा काम गरिसकेका छन्।

चलचित्र सम्पादनलाई चलचित्र निर्माणको अन्तिम लेखन मानिन्छ। कथाको गति, दृश्यको लय र भावनात्मक प्रभाव निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी सम्पादकको हुन्छ। बदलिँदो डिजिटल प्रविधिसँग आफूलाई निरन्तर अद्यावधिक गर्दै आएका खड्काले निर्देशकको परिकल्पना, कलाकारको अभिनय र छायांकनलाई प्रभावकारी कथामा रूपान्तरण गर्ने कार्यमा विशेष दक्षता हासिल गरेका छन् । उनको सफलताले नेपाली चलचित्र क्षेत्रमा पर्दापछाडि काम गर्ने सम्पादक तथा अन्य प्राविधिकहरूको योगदानलाई थप चर्चामा ल्याएको छ ।