ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असार
नेपाली चलचित्र ‘हली’ को टिजर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचार अभियानलाई तीव्र बनाउँदै फिल्मको पहिलो झलक दर्शकमाझ ल्याएको हो ।
आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको एक मिनेट २८ सेकेण्ड लामो टिजरले नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथाबाट उत्पन्न हुने सामाजिक र मानवीय पीडालाई मुख्य विषयवस्तु बनाएको छ। टिजरमा महिनावारी भएकी एक किशोरीलाई घरबाट टाढा छाउगोठमा बस्न बाध्य बनाइएको दृश्य प्रस्तुत गरिएको छ, जहाँ परिवारका सदस्य र आफ्नै बुबाको अनुहारसमेत हेर्न नपाइने परम्पराको दर्दनाक पक्ष उजागर गरिएको छ।
कथामा शिक्षित युवा पात्रले यस्ता विभेदकारी सामाजिक अभ्यासविरुद्ध आवाज उठाउँदै न्यायको खोजी गरेको देख्न सकिन्छ। पुरानो सामाजिक कथावस्तुमा आधारित जस्तो देखिए पनि टिजरले नेपाली समाजमा अझै भइरहेका यथार्थ घटनाहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको संकेत गर्छ। फिल्मको सम्पूर्ण कथा र सन्देश भने प्रदर्शनपछि मात्रै खुल्नेछ।
फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक स्वयं मुख्य भूमिकामा देखिएका छन्। उनीसँगै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्ममा व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ। सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले दर्शकमाझ फरक प्रभाव छोड्ने अपेक्षा गरिएको छ।
यसअघि निर्माण पक्षले फिल्मको प्रचारका लागि विशेष गीत सार्वजनिक गरेको थियो। उक्त गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुति समावेश छ। गीतले राम्रो प्रतिक्रिया पाएसँगै फिल्मप्रति दर्शकको उत्सुकता पनि बढ्दै गएको निर्माण पक्षको विश्वास छ।
फिल्मको कोरियोग्राफी चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका छन् भने केही गीतमा ओम प्रतिक र कविराजले संयुक्त रूपमा कोरियोग्राफी गरेका छन्। कार्यकारी निर्माताको जिम्मेवारी अर्जुन भुसालले सम्हालेका छन् भने सह–निर्मातामा नम्रता भण्डारी रहेकी छन्। लाइन प्रोड्युसर लक्ष्मण कर्मचारी र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्।
राहुल राईको छायांकन तथा रामप्रसाद चौधरीको सम्पादन रहेको फिल्ममा विपिन मल्लले पनि सम्पादनमा सहकार्य गरेका छन्। फिल्मका गीतहरूमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्दमा पनि एक गीत यस चलचित्रमा छ ।
कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको ‘हली’को वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने ओएसएआर डिजिटल डिजिटल पार्टनरको रूपमा रहेको छ। फिल्मको प्रचार–प्रसार अभियानलाई थप प्रभावकारी बनाउन विदेशमा रहेकी अभिनेत्री सुजता थापा पनि नेपाल आइसकेकी छन्। निर्माण टिमका अनुसार उनी फिल्मको सफलताप्रति निकै आशावादी र उत्साहित छिन् ।



