ब्युटी न्युज नेपाल
काठमाडौं, २ असार
वरिष्ठ लोकगायक, संगीतकार, कवि, लेखक तथा पत्रकार रामप्रसाद खनालको नयाँ शिवभजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक भएको छ।
भजन सार्वजनिक गर्दै खनालले विश्वभर रहेका नेपाली समुदायलाई धर्म, संस्कृति र परम्परासँग जोडिराख्न यस्ता सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
भगवान शिवको विशेष दिन असार १ गते सोमबारको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको भजनले भक्तिभाव, आध्यात्मिक चेतना तथा भगवान पशुपतिनाथप्रतिको अटुट आस्थालाई प्रस्तुत गरेको छ।
चार दशकभन्दा बढी समयदेखि नेपाली लोक, दोहोरी, भजन, तीजगीत तथा सांस्कृतिक क्षेत्रमा सक्रिय खनाल हाल अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली भाषा, कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर सक्रिय छन्। रेडियो नेपालका विशिष्ट श्रेणीका गायकसमेत रहेका उनले सयौँ गीतमा स्वर दिएका छन् भने ५६ भन्दा बढी एल्बम र १८ पुस्तक प्रकाशित गरिसकेका छन्।
नयाँ भजनमा शब्द, संगीत तथा स्वर स्वयं खनालकै रहेको छ। संगीत संयोजन बीबी अनुरागीले गरेका छन् भने मिक्सिङ श्याम श्वेत रसाइली र प्रि–मिक्सिङ कमल थापा मगरले गरेका छन्। अडियो तथा भिडियो निर्माण इन्टरनेशनल मिडिया एन्ड इन्टरटेनमेन्ट हाउस यूएस तथा इन्टरनेशनल आर्टिस्ट्स फोरम यूएसएको ब्यानरमा गरिएको हो।
भिडियोको निर्देशन खनाल स्वयंले गरेका छन्। भिडियोमा तीर्था पौडेल, कमल बिक, प्रतिमा बिक, प्रमेश घिमिरे, रमिला रसाइलीलगायत कलाकारहरूको अभिनय रहेको छ। भजनले धार्मिक आस्था, सांस्कृतिक संरक्षण, सकारात्मक सोच र आध्यात्मिक जागरणको सन्देश फैलाउने अपेक्षा गरिएको छ।



