ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार
लाजिम्पाटस्थित उत्तरढोकामा सञ्चालनमा आएको १६टी रेस्ट्रो एण्ड बार को औपचारिक उद्घाटन नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार प्रियंका कार्की र अग्रज अभिनेता धिरेन शाक्यले गरेका छन्। बिहीबार आयोजित विशेष समारोहबीच उनीहरूले संयुक्त रूपमा रिबन काटेर रेस्ट्रोको शुभारम्भ गरेका हुन्। कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्तको पनि विशेष सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै अभिनेता धिरेन शाक्यले निजी तथा शान्त वातावरणमा स्थापना गरिएको रेस्ट्रोले विशेषगरी भारतीय परिकारका पारखीहरूलाई नयाँ स्वाद प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले नयाँ व्यवसायिक यात्राका लागि सञ्चालक टोलीलाई शुभकामना पनि दिए।
त्यस्तै अभिनेत्री प्रियंका कार्कीले नेपाली उद्यमशीलता र स्वदेशमै व्यवसाय विस्तार गर्ने प्रयासप्रति आफू सदैव सकारात्मक रहेको बताइन्। “कसैले नेपालमै केही नयाँ गर्ने सोच बनाउँदा मलाई खुसी लाग्छ। उहाँहरूले निमन्त्रणा गर्नुभएको थियो, त्यसैले सफलताको शुभकामना दिन आज यहाँ उपस्थित भएकी हुँ,” उनले भनिन्।
करिब दुई करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको १६टी रेस्ट्रो एण्ड बारका सञ्चालक राजाराम शर्माले ग्राहकलाई फरक स्वाद र उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्यसहित रेस्ट्रो सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार यहाँ नेपाली, भारतीय तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष संयोजन उपलब्ध हुनेछ।
“हामी ग्राहकलाई केवल खाना मात्र नभई उत्कृष्ट स्वाद, गुणस्तरीय सेवा र आकर्षक वातावरणको अनुभव दिन चाहन्छौं। परिवार, साथीभाइ तथा व्यवसायिक भेटघाटका लागि उपयुक्त गन्तव्यका रूपमा १६टीलाई स्थापित गर्ने हाम्रो उद्देश्य हो,” शर्माले बताए।
कार्यक्रममा बोल्दै मिसेस नेपाल वल्र्ड २०२५ विजेता रक्षा पन्तले १६टी रेस्ट्रो एण्ड बारको पारिवारिक तथा मित्रवत वातावरणले सबै उमेर समूहका ग्राहकलाई आकर्षित गर्ने बताइन्। उनले गुणस्तरीय सेवा र स्वादिष्ट परिकारमार्फत रेस्ट्रोले छोटो समयमै ग्राहकको मन जित्ने विश्वास व्यक्त गरिन्।
आधुनिक शैलीमा सजाइएको रेस्ट्रोको आकर्षक इन्टेरियर, आरामदायी बसाइ व्यवस्था, सौम्य प्रकाश संयोजन र पारिवारिक वातावरणले सुरुदेखि नै आगन्तुकहरूको ध्यान खिच्न थालेको छ। काठमाडौंका खाद्य पारखीहरूका लागि यो नयाँ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।



