सकियो ‘क्याप्टेन साब’को छायांकन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार

पहिलो चरणको छायांकन जारी रहेको बेला जेनजी आन्दोलनले निर्माता रामेश्वर थापाको व्यवसायमा आगजनी तथा क्षती भएपछि गत भदौमा चलचित्र ‘क्याप्टेन साब’को छायांकन रोकिएको थियो । यो चलचित्रको बाँकी छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्र ‘क्याप्टेन साब’को छायांकन बुधबार सम्पन्न गरिएको हो ।

पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । जेनजी आन्दोलनपछि यसको छायांकन स्थगित गरिएको थियो । यता दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।

दीपेन्द्र के खनालले निर्देशन रहेको चलचित्र कृष्णबहादुर थापाले खिचेका छन् । चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।

यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो चलचित्रको छायांकन सम्पन्न भएसँगै सम्पादन सुरु गरिएको छ ।