ब्युटी न्युज नेपाल
काठमाडौँ, २ चैत
नेपाली चलचित्र ‘पाँच पाण्डव’मा सुरुमा हरिबंश आचार्य, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा) र सिताराम कट्टेललाई राख्ने तय भएको थियो । तर यी तीन मध्ये दीपकराजले आफ्नो फिल्मको कारण समय दिन नसक्ने बताए भने सिताराम र केदार अमेरिकामा रहेका कारण नेपाल फर्कन सकेनन् । त्यसैले केही कलाकार परिवर्तन गर्दै नेपाली चलचित्र ‘पाँच पाण्डब’को छायांकन झापाबाट सुरु गरिएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।
क्यामेरा पूजा गर्दै छायांकन थालिएको सिनेमाको पहिलो दिनको सेड्युलमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो । यो चलचित्रमा दीपकराज, सिताराम र केदार नभएपछि अहिले हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले)लाई राखेर छायांकन सुरु गरिएको छ । चलचित्रका पाँच पाण्डब पनि यी कलाकार नै हुन । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् । ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित सिनेमा भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो । चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ ।
चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गर्दैछन् । झापाका विभिन्न रमणीय स्थानहरूमा छायांकन सकेपछि टोलीले अन्य स्थानको सेड्युल तय गर्ने निर्देशक निरौलाले जानकारी दिए ।
नेपाली फिल्म क्षेत्रमा सफल पटकथा लेखकको पहिचान बनाएका सुशील पौडेलले यसको कथा, पटकथा तथा संवाद लेखेका हुन् । पौडेल यसअघि समीक्षक र दर्शक दुवैले रुचाएको चर्चित फिल्म ‘प्रसाद’का लेखक हुन्, जसका कारण ‘पाँच पाण्डव’को कथावस्तु पनि बलियो हुने अपेक्षा गरिएको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।
यो चलचित्रलाई श्याम तामाङले खिच्ने छन् । करिब ४० दिनको छायाकंन तालिका तय गरिएको अधिकांश दृश्य झापा मै खिचिने निर्माण टिमले जानकारी दिएको छ । चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने छ ।


