ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ फागुन
गायक तथा अभिनेता प्रकाश सपूत एक महिना लामो राजनीतिक यात्रापछि फेरी गीत संगीत तथा कन्सर्टमा फर्किएका छन् । अभिनेता तथा गायक सपूत यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा दलित कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका थिए । सोही कारण आफ्नो पार्टीलाई जिताउन र आफ्नो पक्षमा धेरै भन्दा धेरै मत प्राप्त गर्नको लागि उनी एक महिना अघि चलचित्र र गीत संगीत सम्बन्धी सकै कार्यक्रमहरू स्थगित गरेर राजनीतिक यात्रामा उत्रिएका थिए ।
तर यति बेला गायक तथा अभिनेता प्रकाश सपुतको नाम रास्वपाबाट समानुपातिक सूचीमा सांसद बन्ने सम्भावना कम भएपछि उनी फेरी गीत संगीत तथा कन्सर्टमा फकिएको देखिन्छ । रास्वपाको अहिलेको सिट संख्या हेर्दा प्रतिसतको हिसाबले समानुपातिकबाट ४८ जना महिला थप्नुपर्ने हुन्छ । समानुपातिकमा ५७ सिट जितेको रास्वपाले ४८ जना महिला रोज्नुपर्ने भएपछि पुरुषका लागि ९ सिट मात्रै बाँकी रहेको छ । पुरुषबाट ९ सिटमा अहिलेसम्म १ जना दलित क्लस्टरबाट पर्ने र सो क्लस्टरमा प्रकाशचन्द्र परियार पहिलो नम्बरमा छन् । सोही कारण दोस्रो नम्बरमा रहेका प्रकाश सपूतको संभावना घटेको हो ।
त्यसो त रास्वपाबाट मुस्लिम कोटामा समानुपातिक सूचीबाट महिला सांसद घटाएको खण्डमा एक जना दलित कोटाबाट समानुपातिकमा पर्ने सम्भावना अझै कायमै छ । त्यसैले दलित क्लस्टरबाट दोस्रो नम्बरमा रहेका प्रकाश सपुत फेरी पनि समानुपातिक सूचीमा पर्ने सम्भावना नभएको हैन । तर यसो गर्दा मुस्लिम पक्षलाई अन्याय हुने आवाज पनि उठ्न सक्ने छ ।
तथापि समानुपातिक सूचीबाट सांसद बन्ने पक्का नभएको देखिएपछि गायक तथा अभिनेता प्रकाश सपुतले सांगीतिक कन्सर्टको जिम्मेवारी लिएका छन् । यसै क्रममा दुई सातापछि चैत दसैँको अवसरमा बागलुङ समाजद्वारा बागलुङमा आयोजना गरिने कन्सर्टमा उनी जाने भएका छन् । उनी ३१ मार्चमा प्रस्तुति दिनको लागि पहिलो पटका आयरल्यान्ड जान लागेका हुन् । प्रकाश सपुतले सामाजिक सञ्जालमा यो कार्यक्रमबारे यस्तो लेखेका छन्,‘चैते दसैँ मेलैमा…, बागलुङ समाजको निमन्त्रणामा यही मार्च ३१ तारिख पहिलो पटक आयरल्यान्ड आउदैछु है ! समय मिलाउँदै गर्नु ! रमाइलो गरौला ! दुख सुख साटौला !’
यदि उनी रास्वपाबाट समानुपातिकमा सांसदको रूपमा चयन भएको खण्डमा अर्को साताबाट संसद भवनमा हुनु पर्नेमा विदेशको कन्सर्ट तर्फ लाग्दै छन् । यसले पनि उनी आफैँ समानुपातिकमा नपर्ने हो कि भन्ने कुराले दोधारमा छन् । सोही कारण उनी फेरी सांगीतिक कन्सर्टमा फर्कन लागेको देखिन्छ ।


