मुहूर्तसँगै चलचित्र ’मुक्तिपुर’को छायांकन सुरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ फागुन

बदलाको भावमा आधारित रहेर नेपाली चलचित्र ’मुक्तिपुर’ शुभ मुहूर्त गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत थालनी गरिएको छ । नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती यो चलचित्रमा प्रमुख अभिनयमा रहनेछन् । आकृति बुढाथोकीले यो चलचित्रबाट अभिनेत्रीको भुमिकामा रजतपटमा डेब्यू गर्दैछिन् ।

सुनिल पाण्डेको निर्देशनमा तयार हुने यो चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा बन्नेछ । विभिन्न छोटा चलचित्र र वृत्तचित्र निर्देशनमा अनुभवी युवा निर्देशक पाण्डेको लागि ’मुक्तिपुर’ ठुलोपर्दाको डेब्यू निर्देशन हुनेछ । चलचित्रको कथापनि निर्देशक पाण्डेकै हो ।

पछिल्लो १० वर्षदेखि चलचित्र अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनी शिक्षा प्रदान गर्दै आएको फिल्म क्षेत्रको अग्रणी एकेडेमी एभरेष्टले पहिलोपटक चलचित्र निर्माणमा पाइला अघि बढाएको हो ।

विजय राजवंशी र रोशन पासवान निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह – निर्माता छन् । सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्यूसर रहेको चलचित्रमा सम्राट बस्नेत द्वन्द्व निर्देशक रहँदा छायांकन सरद महतोको रहनेछ भने कला निर्देशक अकी थाक्पा र प्रोडक्सन हेड रुपक प्रताप अधिकारी छन् ।

’एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा फिल्मले बोल्नेछ’, निर्देशक पाण्डेले भने ।

अभिनेता नाजिर हुसैनले ’मुक्तिपुर’ आफ्नो करियरको महत्वपूर्ण इट्टा रहने आत्मविश्वाससहित चलचित्रमा जोडिएको बताए । साथमा घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकाश खनाल, रुपेश लामा, आयन परियार, श्रवन रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना र प्रविणकुमार चौधरी लगायतको पनि चलचित्रमा अभिनय रहनेछ ।
म्युजिक भिडियो अभिनयको अनुभव संगालेकी वुढाथोकीले ठुलोपर्दाको अभिनयलाई उत्साहित रहेको बताइन् । अनुभवी निर्माण टिम र अनुभवी कलाकारहरूसहितको लाइन अपमा जोडिनु आफ्नो लागि ठुलो उपलब्धि रहने भन्दै आफ्नो पात्रलाई न्याय दिने विश्वास व्यक्त गरिन् ।

४० दिनको छायांकन तालिकासहित फ्लोरमा निस्किएको चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । कार्यकारी निर्माता श्रेष्ठले छायांकन सम्पन्न भएको मितिले ६ महिनभित्र प्रदर्शनमा ल्याउने लक्ष्यसहितको तालिकामा आफुहरू फ्लोरमा निस्किएको बताए ।