ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ माघ
एकल घरको चलचित्र हल यदि बन्द अवस्थामा छ र चलचित्र विकास बोर्डको नियम एवम् सर्त अनुसार सञ्चालन गर्ने हो भने यस्ता चलचित्र घर सञ्चालनका लागि बोर्डले अब सहुलियत दिने भएको छ ।
बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सहुलियतको घोषणा गरेको हो । विज्ञप्तिमा लेखिए अनुसार देशभरका सिँगल थियटर सहितका चलचित्रघरको स्तरोन्नति, पुनः सञ्चालन र दर्शक अभिवृद्धिका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने निर्णय बोर्डले गरेको हो । स्वदेशी चलचित्रको प्रवद्र्धन र बजार विस्तारलाई लक्षित गर्दै बोर्डले सशर्त अनुदान सहयोगका लागि सूचना सार्वजनिक गरेको हो।

शुक्रबार २३ माघमा प्रकाशित सूचनाअनुसार तोकिएका कागजातसहित बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी ७ दिनभित्र चलचित्र विकास बोर्डको कार्यालयमा आवेदन पेश गर्नु पनि अनुरोध गरेको छ । सूचनामा विशेषगरी काठमाडौँ उपत्यका बाहिर (मोफसल) सञ्चालनमा रहेका, विभिन्न कारणले बन्द भई पुनः सञ्चालन गर्न चाहने चलचित्रघरलाई प्राथमिकता दिइने उल्लेख छ । त्यस्तै, व्यावसायिक मल बाहेकका स्थानमा रहेका, ऐतिहासिक तथा पुराना चलचित्रघर, र जनघनत्व बढी भएका क्षेत्रमा रहेका चलचित्रघरलाई समेत अग्राधिकार दिइने बोर्डले जनाएको छ ।

हाल सञ्चालनमा रहेका चलचित्रघरले ई–टिकेटिङ (बक्स अफिस) प्रणाली लागू गरी बोर्डको केन्द्रिय चलचित्र व्यवस्थापन पद्धती (सीसीएमएस) मा नियमित डाटा उपलब्ध गराएको हुनुपर्ने शर्त राखिएको छ। चलचित्र विकास शुल्क, मूल्य अभिवृद्धिकर (भ्याट) तथा मनोरञ्जन करलगायत सबै राजस्व समयमै चुक्ता गरेको चलचित्रघरलाई प्राथमिकतामा राखिने पनि विज्ञप्तिमा उल्लेख छ ।
आवेदन फाराम बोर्डको कार्यालय वा बोर्डको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। तोकिएको म्यादपछि प्राप्त हुने आवेदनलाई यो सुविधा नदिने पनि बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका अनुसार यो कार्यक्रम गत आर्थिक वर्षको निरन्तरता भएकाले गत वर्षकै सूचनाअनुसार आवेदन दिइसकेकाहरूले पुनः आवेदन दिनुपर्ने छैन। चलचित्रघरको स्तरोन्नतिसँगै नेपाली चलचित्र उद्योगलाई पुनर्जीवित गर्ने सरकारी प्रयासका रूपमा यो कदमलाई महत्त्वपूर्ण मानिएको छ।



