दूर्घटनापछि हिड्न नसक्ने भए, जनकले आइसियुमा हुँदा ‘मितज्यू’ बनाए


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ वैशाख

सात वर्ष अघि निर्माण घोषणा गरिएको चलचित्र मितज्यू अब भने चलचित्र घरमा रिलिज हुने भएको छ । यो चलचित्र यही ८ जेठबाट चलचित्र घरमा लाग्दैछ । काठमाडौँमा यो चलचित्रको ट्रेलर रिलिज समारोहमा यसका निर्माता जनक गुरुङलाई ह्विचेरमा देख्दा सबै जना भावुक भए । किनकी अघिल्लो चलचित्र घरज्वाईँमा जनक एक दम ठिक थिए ।

यो चलचित्रको छायांकन सुरु हुनैलाग्दा यसका निर्माता जनक गुरुङ ठुलो दुर्घटनामा परेका थिए । उनी आईसियुमा हुँदा समेत चलचित्रको छायांकन नरोकी अघि बढाईएको थियो । आफ्नो निर्माता आइसियुमा हुँदा चलचित्रको छायांकन गर्ने की नगर्ने भनेर निर्देशक अनिल बुढामगर निकै दोधारमा थिए । किनकी दूर्घटनामा परेर जनकको मेरुदण्ड भाँचिएको थियो । डक्टरहरुले अब जनक जीवनभर उभिएर हिड्न नसक्ने र ह्विलेचरको सहारा लिनु पर्ने बताएका थिए । यसरी सो दुर्घटनापछि निर्माता जनक गुरुङ ह्विचेरको सहरामा मात्र हिड्डुल गर्न सक्ने भएका छन् । सोही कारण मितज्यूको ट्रेलर रिलिजमा उनी ह्विचरमा आउँदा सबै भावुक भएका हुन् ।

निर्माता आइसियुमा भएको बेला यो चलचित्रलाई निकै कठिन अवस्थामा आफूले छायांकन सम्पन्न गरेको निर्देशक अनिलले बताएका छन् । चलचित्रको लगानी उठाएर केही रकम नाफा कमाएर जनकलाई दिने चाहना पनि अनिलले कार्यक्रममा व्यक्त गरे । अनिलको कुरा सुनेर जनक झनै भावुक भए ।

जनकले आफ्ना पीडाहरु सुनाउँदै सबैका आँखा रसाए । अभिनेता दयाहाङले पनि यस्तो अवस्थामा जनकले चलचित्र निर्माण गर्न लागेको भन्दै आफूले साथ दिएको बताए । यो चलचित्र राम्रोसँग चल्नु पर्छ भन्ने दयाहाङको भनाई छ । चलचित्रको कमाईबाट जनकको थप उपचार गर्न बाँकी छ । यो चलचित्रमा दयाहाङसँगै सौगात मल्ल, तेरिया फौजा मगरको मुख्य भूमिका छ ।