‘द ब्लू लाइट’बारे नयाँ निर्देशक बलिरामको यस्तो दाबी


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

नेपाली चलचित्रका लागि बलिराम चौहान नयाँ नाम हो । बलिरामले नयाँ चलचित्र द ब्लु लाईट निर्देशन गरेका छन् । उनको काम हेर्न बाँकी छ । तर उनको आफ्नो कामबाट दर्शकलाई निराश नबनाउने दाबी गरेका छन् । उनको दाबी सार्थक हुन्छ की निरर्थक, त्यो भने अबको चार दिन पछि थाहा हुने छ ।

निर्देशक चौहानका अनुसार यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष सिनेमा हो । चलचित्रले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको उनले बताएका छन् ।

निर्देशक चौहानले आफ्नो चलचित्र हरर नभएर क्राईम स्टोरीमा आधारित भएको जनाउँदै भनेका छन्, “हाम्रो चलचित्र हरर होइन, यो एउटा मनोवैज्ञानिक ड्रामा–थ्रिलर हो । यद्यपि, केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन् ।“

पछिल्लो समय नेपाली चलचित्र उद्योगमा नयाँ निर्देशकहरूको आगमन र पलायनको क्रम बढ्दो छ । यसै सन्दर्भमा निर्देशक चौहान आफूलाई फरक रूपमा दाबी गरेका छन् । हुन त हरेकले आफूलाई फरक नै दाबी गर्छन । उनको दाबी भने चलचित्रको रिलिज पछि हलमा हुने व्यापारले प्रस्ट पार्ने छ ।

तथापि उनले दाबी सहित भनेका छन्, “म रातारात हिट हुन वा त्यसैगरी हराउन आएको होइन । म एउटा लामो यात्राको लागि तयार भएर चलचित्र क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो योगदान र गन्तव्य अरूभन्दा फरक हुनेछ ।“

चलचित्र ‘द ब्लू लाइट’ मा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा देखिएका छन् । चलचित्रको कथा यिनै दुई पात्रको वरिपरि घुम्ने निर्देशकको कथन छ । स्थापित कलाकारहरूको ठूलो जमघट रहे पनि भूमिकालाई लिएर कुनै विवाद नभएको र सबै कलाकारले आफ्नो चरित्रमा नयाँपन पाएको चौहानको दाबी छ ।

“हामीले प्रेम, धोका र बदलाकै विषयलाई नयाँ शैलीमा देखाउन खोजेका छौँ । यसभित्रका पात्रहरूको संवेग र भावनाहरू निकै संवेदनशील छन्, जसले दर्शकलाई नयाँ खालको अनुभव दिनेछ,“ उनले भने ।

लगातार नेपाली चलचित्रले दर्शकलाई निराश बनाइरहेका बेला ‘द ब्लू लाइट’ ले दर्शकको मन जित्ने बारे अहिले नै ठोकुवा गर्न सकिन्न । किनकी यो चलचित्र प्रचारमा निकै कमजोर रहेको कुरा बलिरामले पनि स्विकारेका छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । यो फिल्ममा नायिका बेनिशा हमाल कार्यकारी निर्मातामा छिन् ।