ब्युटी न्युज नेपाल,
काठमाडौँ, ११ माघ
त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘रमिताको पिरती’को ट्रेलर आइतबार राजधानीमा सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित विशेष समारोहमा सार्वजनिक ट्रेलरले प्रेम, धोका र भावनात्मक यात्रालाई उजागर गर्दै दर्शकमाझ उत्सुकता जगाएको छ।
नयाँ पुस्ताकी निर्देशक सुदिप्ताको निर्देशनमा तयार भएको यो चलचित्रलाई उनले ‘लभ स्टोरी होइन, ब्रेकअप सेलिब्रेशन स्टोरी’को रुपमा परिभाषित गरेकी छन्। उनका अनुसार, नेपाली सिनेमामा प्रायः प्रेम कथाहरू पुरुष पात्रको दृष्टिभन्दा अघि बढाइन्छ, तर ‘रमिताको पिरती’ भने पूर्ण रूपमा महिलाको भावनात्मक संसारमा केन्द्रित छ।
उनले भनिन्, “ब्रेकअपपछि एउटी केटीको मनस्थिती कस्तो हुन्छ, उनले आफूभित्रका संघर्ष र परिवर्तनलाई कसरी आत्मसात गर्छिन् – यही कथाको मूल आत्मा हो।”
मुख्य अभिनेत्री आना शर्माले पनि आफूले यो भूमिकालाई गहिरो तयारीसहित निर्वाह गरेको बताउँदै भनिन्, “पात्रलाई आत्मसात गर्न निर्देशक सुदिप्तासँग करिब छ महिनासम्म मैले नियमित काम गरेँ। रमिता मेरो लागि भावनात्मक रूपमा निकै नजिकको पात्र हो।”
त्यस्तै, मुख्य अभिनेता धिरज मगरले आफू पछिल्ला दिनमा ‘हिरो सेन्ट्रिक’ भन्दा पनि ‘हिरोइन सेन्ट्रिक’ कथामा काम गर्न रुचाएको बताउँदै ‘रमिताको पिरती’ त्यही धारको एक विशेष प्रोजेक्ट भएको बताए। उनले थपे, “दर्शकले मलाई यसपटक एक फरक अवतारमा देख्नेछन्।”
चलचित्रमा आना शर्मासँगै समीर श्रेष्ठ, धिरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, र थिन्ले लामालगायत कलाकारको अभिनय रहेको छ। यही चलचित्रमार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन्।
सेरो फिल्म्सको ब्यानरमा निर्माण गरिएको ‘रमिताको पिरती’का कार्यकारी निर्माता सन्तोष लम्साल रहेका छन्। आरपी प्रोडक्सन सह–निर्माता रहेको यस चलचित्रमा निर्देशक सुदिप्ता स्वयं सह–निर्देशक सुवास कोइरालासँग सहकार्य गरेकी छन्, जबकि सागर लम्साल निर्माता हुन्।
संगीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, र कुशल पोखरेलका धुन सुन्न सकिने छन्। शिशिर विशंखेले डीओपी, सुनिल शिवभक्तीले सम्पादन, कपिल पराजुलीले कलर ग्रेडिङ र कृतिका बरालले कोरियोग्राफी सम्भालेका छन्।
सिनेमाको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले गर्नेछन् भने उपत्यकाबाहिर एफडी कम्पनीले वितरण जिम्मा लिनेछ । प्रेम, पीडा र आत्म–खोजको कथामा आधारित ‘रमिताको पिरती’ आगामी माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। निर्देशक सुदिप्ता विश्वास गर्छिन् — “यो सिनेमा दर्शकका लागि फरक अनुभव हुनेछ, किनभने हामीले ब्रेकअपलाई पीडा होइन, आत्म–स्वीकृतिको यात्राको रूपमा देखाएका छौं।”


