एकल सांगीतिक साँझमा गुञ्जिए शान्तिराम राईको


ब्युटी न्युज नेपाल
काठमाडौ १२ माघ

संगीतकार गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिसक्लवको सगरमाथा हलमा सम्पन्न भएको छ । खोटाङ जिल्लाको दिक्तेलमा ५५ बर्ष अगाडी माता मनहिरा र पिता राहामानको कान्छा छोराको रुपमा जन्मिएका शान्तिराम राईले आफ्नो ४ दशक लामो सांगीतिक सिर्जना यात्राका क्रममा २ हजार भन्दा बढी संगीत सिर्जना गरि नेपाली संगीतको भण्डारमा अथाह योगदान गरिकेका छन् ।

समाजशास्त्र र संगीतशास्त्रमा मास्टर्स सम्मको अध्ययन गरेका शान्तिराम राईले संगीतका विद्यालय स्तरिय पाठ्य पुस्तक लेखिसकेका छन भने राष्टपतिबाट प्रवल जनसेवाश्री, नेपाल सरकारबाट राष्टिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, रेडियो नेपालबाट सर्वोत्कृष्ठ संगीतकार लगायत सयौं सम्मान र पुरस्कारद्धारा पुरस्कृत भइसकेकाछन् ।

कार्यक्रममा आयोजकको तर्फबाट गायक रुपकुमार राईले उपस्थित सबैलाई र सहयोगीहरुलाई स्वागत र धन्यवाद मन्तव्य राखेका थिए भने संगीतकार महेश खड्काले रुद्राक्षको माला जडित श्रीपेजको ताज र पुष्पगुच्छा सहित प्रतिष्ठित संगीतकार शान्तिराम राईलाई संगीत सिर्जनाका संगीतमहाराजाको उपाधी दिएर सम्मान अर्पण गरेका थिए ।

आफ्नो पहिलो संगीत ‘तिमी तारे भिर म त लहरा’ सुनाएर कार्यक्रमको सुरुआत गरेका शान्तिराम राईले विभिन्न आठ वटा गीत गाएका थिए जसमा उनलाई अहिलेकी चर्चित गायिका स्मिता प्रधानले साथ दिएका थिए । कार्यक्रम अवधिभर विभिन्न कालखण्डका प्रतिनिधि २१ वटा कालजयी अमर संगीतहरु सुनाइएको थियो ।

प्रशिद्ध गायक गायिकाहरु शम्भु राई, उदय सोताङ, मनिला सोताङ, सत्यकला राई, रोशन राई, कन्काइष्ट राई, रुपकुमार राई, बेनुका राई, अशोक मुकारुङ, हुँदै पछिल्लो पुस्ताकी लोकप्रिय गायिका जुनु प्रसाइँ र मनमा बी राईले शान्तिराम राईका सदाबहार संगीतहरु गाएर कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन मद्धत गरे । बिनुशा राई, एलिना राई र एलिना उदाशले सबै गीतहरुमा कोरस गाएका थिए ।

आजका दिन सम्म आईपुग्न शम्भु राईको शुरुआती साथ सहयोगको खुलेरै प्रशंसा गरेका थिए भने तिमी तारे भिर, बाटो हेरे हुन्छ आमा, धोका दियौ तिमीले, छालहरु ओ, जस्ता आफ्नो सुरुआतीे कम्पोज नै हिट भएकाले आफु यहाँ सम्म आईपुग्न सकेको भन्दै दर्शक श्रोता र शुभचिन्तकहरुलाई भगवान, अल्लाह, जिसस् र सुम्निमा पारुहाङ भन्न भ्याए । उनले आफ्नो एकल सांगीतिक कार्यक्रम अब धरान, हङकङ र बेलायतमा हुने कुरा पनि जानकारी गराउँदै सबै सहयोगीहरु, आफन्त, शुभचिन्तक, स्थानीय सरकार, विभिन्न संघसंस्थाहरुलाई धन्यवाद भने ।

२६ जना धुरन्धर बाद्यबादकहरुको लाइभ अर्केष्टामा सुनाइएको गीतहरु नेपालकै इतिहासमा दुर्लभ कार्यक्रमको रुपमा लिइएको छ । अशोक राईको संगीत संयोजन र निर्देशनमा १० दिन भव्य रिहल्सन गरि व्यवस्थित रुपबाट स्टेज साज सज्जा सहित नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको यो एक एैतिहासिक कार्यक्रम रहेको सबैले महशुस गरे । हल भरिभराऊका बीच कलाकारहरुको दमदार प्रश्तुतिले यो कार्यक्रम भव्य र सभ्य बन्न सफल रह्यो ।

नेपाल एयर लाइन्सको मुख्य प्रायोजन र प्याब्सन काठमाडौंको सहकार्यमा दर्जनौं देश तथा बिदेशी संघ संस्था, व्यक्ति र स्थानिय सरकारहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेशी तुवाचुङ नगरपालिका सहित डेढ दर्जन गाउँपालिकाहरुको साथ रहेको कार्यक्रमलाई खोटाङ कलाकार समाज काठमाडौंले आयोजना गरेको थियो ।