ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ पुस
अभिनेता शुशिल श्रेष्ठ पछिल्लो पुस्ताका एक्सन अभिनेता हुन् । उनले यो कुरालाई नयाँ चलचित्र ‘परिवर्तन’बाट थप पुष्टी गरिरहेका छन् । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’को ट्रेलर हेर्दा शुशिल साँच्चै एक्सन अवतारमै छन् । निर्माण टिमले सोमबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरेको चलचित्रको ट्रेलरमा उनको एक्सन डरलाग्दो छ ।
ट्रेलरमा चलचित्रको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ट्रेलरमा शुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईलीको केमेस्ट्री पनि लोभ लाग्दो छ । अन्जना यसमा प्रहरी इन्पेक्टरको भुमिकामा देखिएकी छन्।
ट्रेलरमा सरोज खनाक, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचे लगायतको चरित्र पनि प्रस्तुत गरिएको छ । ट्रेलरबारे निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे। उनले भने,‘फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो। एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ,’सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई चलचित्रको पर्दामा प्रस्तुत गर्न लागिएको केरुङले बताए ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा शुशील श्रेष्ठ र अञ्जना बराईली का अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ।
परिवर्तनमा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठ को रहेको छ । दीपक शिवाकोटी को कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका छन्। यसअघि सार्वजनिक पोस्टर र टिजरका साथै झ पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।


