ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ मंसिर
अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको नयाँ चलचित्र ’बब डाई’को छायांकन सुरु भएको छ । चलचित्रमा सौगात मल्लसँगै, सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पन्डितको अभिनय रहनेछ ।
चन्द्रागिरीबाट छायांकन सुरु भएको ’बब डाई’को ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौंको किर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो ।
चलचित्रलाई प्रबिन श्रेष्ठले निर्देशन गरिरहेका छन् । यसअघि ’मोक्ष’ चलचित्रका निर्देशन गरेका प्रबिनले १२ बर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार ’बब डाई’मा किर्तिपुरकै कथा छ । चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, ’खासमा बब डाई भनेको बब दाई हो । नेवारी ट्युनमा दाईलाई डाई भनिने भएकाले नाममा त्यसरी राखेका हौं ।’ उनका अनुसार ’बब डाई’को भूमिकामा सौगात मल्ल देखिनेछन् ।
चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ । चलचित्रलाई श्याम तामाङको टिमले खिच्दै छ भने प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन् । निरपेश रुपाखेती कास्टिङ डिरेक्टरको रुपमा छन् भने सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर हुन् । पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ । चलचित्रमा कोरियोग्राफी सृष्टि महर्जनको छ भने राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन् ।




