अमेरिकी राजदुतद्वारा सोल्टि होटलमा क्रिसमस बजार उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० कात्तिक

यो वर्षको क्रिसमस पर्व नजिकिँदै गर्दा यसको असवरमा विभिन्न कार्यक्रम सुरु हुन थालेका छन् । यसै क्रममा एक्टिभ उमन अफ नेपालद्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा सम्पन्न भयो । चार दशकभन्दा बढी समयदेखि निरन्तर हुँदै आएको यो वार्षिक कार्यक्रम यस वर्ष पनि उल्लेख्य सहभागितासहित सम्पन्न भएको आयोजकहरूले बताएका छन् ।

बजारको उद्घघाटन आज बिहान नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसन तथा उनकी धर्मपत्नी र एवनकी मानार्थ अध्यक्ष जेन क्रिल थम्पसनले संयुक्त रूपमा गरे । उद्घाटनपछि बोल्दै थम्पसन महोदयीले कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै भनिन्,“एवन बजार हाम्रो लागि सधैं विशेष रहन्छ । हामी हरेक वर्ष क्रिसमसका सामग्री किन्न यहाँ आउँछौँ । यस वर्षको बजार निकै व्यवस्थित र सफल देखियो । उपलब्ध सामग्रीको गुणस्तर उत्कृष्ट छ, विविधता धेरै छ, र किफायती मूल्यमा एकै ठाउँमा सबै वस्तु पाइने सुविधा निकै उपयोगी छ ।”

कार्यक्रमलाई यात्रा म्यागजिन, नेपाल एयरलाइन्स, आइविबी अष्ट्रेलिया, बुद्ध एअर, सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स, रुपीज इन्टरनेशनल स्कुल र डाबर नेपालले प्रायोजन गरेका थिए । बजारमा १०० भन्दा बढी स्टलले स्टार्टअप उत्पादन, अर्गानिक सामग्री, हस्तकला, फेसन वस्तु, घरायसी सजावट तथा चाडपर्वका सामग्री बिक्री तथा प्रदर्शन गरेका थिए। आगन्तुकका लागि खानाका स्टल र बाल–मैत्री गतिविधिहरू पनि राखिएको थियो ।

कार्यक्रमबाट संकलित रकम एवन ले सञ्चालन गर्दै आएका महिला सशक्तिकरण, सामुदायिक सहयोग र सामाजिक सेवा परियोजनामा विनियोजन गरिने जनाइएको छ । ७७ वर्षअघि स्थापना गरिएको एवन प्रारम्भमा अमेरिकी दूतावाससँग जोडिएका केही महिलाहरूको समूहका रूपमा सुरु भए पनि अहिले नेपाली तथा विदेशी महिलाहरूलाई समेट्ने समावेशी सामाजिक संस्था बनेको छ ।

एवन की अध्यक्ष बाबा सरकार श्रेष्ठले बजारको सफलताप्रति खुशी व्यक्त गर्दै भनिन्,‘यस वर्षको क्रिसमस बजार अत्यन्तै सफल रह्यो। प्रायोजक, सहभागी, स्वयंसेवक र आगन्तुक सबैलाई धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूको सहयोगले नै हामीले सञ्चालन गर्दै आएका च्यारिटी तथा समुदाय–मुखी कार्यक्रमहरूलाई निरन्तरता दिन सम्भव भएको छ ।’

आयोजकका अनुसार यस वर्षको एवन बजार सहभागिता, बिक्री–व्यवहार र समग्र सार्वजनिक रुचिका आधारमा पछिल्ला वर्षहरूमध्ये सबैभन्दा प्रभावकारी कार्यक्रमका रूपमा मूल्यांकन गरिएको छ ।