ब्युटी न्युज नेपाल
काठमाडौँ २८, कात्तिक
काभ्रेपलाञ्चोकको चौवासमा जन्मिएकी अरुणा लामा (बम्जन) पेशाले फेशन डिजाईनर हुन् । उनको यो नै पहिलो पेशा हैन । बैंकमा लामो समय काम गरेको अनुभव उनीसँग छ । ब्युटिसियनको रुपमा समेत केही वर्ष काम गरेकी अरुणा पछिल्लो समय भने फेशन डिजाईनमा आवद्ध छिन् ।
अरुणा यसपटक रिवन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिसेस नेपाल वल्र्ड २०२५’को अन्तिम प्रतिस्पर्धामा छिन् । ‘मिसेस नेपाल वल्र्ड २०२५’को ग्रान्ड फिनाले यही २९ कात्तिक शनिबार काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा हुँदैछ । यसको अन्तिम तयारीमा उनी तिब्र गतिमा लागेकी छिन् । उनी यो प्रतियोगिताको प्रतियोगी नं. ६ हुन् । अरुणाको लागि ‘मिसेस नेपाल वल्र्ड २०२५’ पहिलो ब्युटी पेजेन्टको अनुभव हो ।

व्यबस्थापनमा स्नातक गरेपछि उनी नेपालबाटै छनौट भएर १५ वर्ष अघि दुबई पुगेकी थिईन् । दुबईको अभुदाबीमा रहेको श्रीलंकन बैंकको ब्रान्च इन्चार्ज भएर उनले ७ वर्ष सेवा दिईन् । त्यसपछि आफैँले केही गर्नु पर्छ भनेर अरुणले दुबईमै आफ्नो ब्युटी पार्लर स्थापना गरेर तीन वर्षसम्म चलाईन् । परिवारबाट टाढा रहेर १२ वर्ष लामो समय बिदेशमा रहँदा उनलाई परिवारको साह्रै न्यास्रो लाग्यो । त्यसैले अरुणा चार वर्ष अघि नेपाल फर्किएकी हुन् ।

नेपाल आएर ‘आईआईएफटी’ फेशन इन्टिच्युटबाट सन २०२३ मा फेशन डिजाईनमा डिप्लोमा गरेकी उनी बिगत तीन वर्षबाट फेशन डिजाईन पेशामै आवद्ध छिन् । हालै सम्पन्न मिस नेपाल वल्र्ड २०२५मा उनी पनि अफिसियल फेशन डिजाईनर थिईन् । त्यसो त अरुणाले द नेशलन डिजाईनर रन वे, मिस एन्ड मिस्टर भक्तपुर, लिटल एञ्जल एन्ड लिटल मास्टर जस्ता ब्युटी पेजेन्टहरुको पनि फेशन डिजाईन गरिसकेकी छिन् ।
पछिल्लो समय ललितपुरको टौखेलमा बस्दै आएको अरुणा एक छोराकी आमा हुन् । श्रीमानसहित आफ्नो परिवारबाट पाएको सहयोगकै कारण मिसेस नेपाल वल्र्डको ग्रान्ड फिनालेमा पुगेको उनले बताईन् । चाँडै बुटिक खोल्ने योजनामा रहेकी अरुणा मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि जित्ने आत्म विश्वासको साथ प्रतिस्पर्धामा उत्रिएको बताउँछिन् ।





