ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ असोज
‘लहर झैँ सागरमा नाच्न मन लाग्यो
हाँस्दै खेल्दै रमाउँदै बाँच्न मन लाग्यो
चरी जस्तै आकाशमा
भूरुरु खुला भै उड्न मन लाग्यो
माथि माथि बादलमा पुग्न मन लाग्यो…’
यो गीतलाई गीतकार डब्बु क्षत्रीले रचना गरेका हुन् । क्षत्रीको यो नयाँ गीत ‘ लहर झैँ… ’ यस पटक बडा दसैँको कोसेली स्वरुप दर्शकमाझ ल्याईएको हो । यो गीतको भिडियोलाई युट्युव च्यानल एसबी क्रियसन नेपालबाट सार्वजनिक गरिएको छ ।
पप शैलीको यो गीतमा जुगल डंगोलको संगीत रहेको छ । गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । यो गीतलाई युवा पुस्ताकी गायिका बेनिसा पौडेलले गाएकी हुन् । गीतमार्फत उनले स्वच्छन्दताको चाहना व्यक्त गरेकी छिन् ।
यो गीतमा एउटा युवतीलाई चरीसँग तुलना गरिएको छ । युवतीको उत्साह र उनको स्वतन्त्रतासँगै उनका चाहनाहरुलाई स्थान दिइएको छ । नारीलाई चरी झैँ उड्नु दिइनुपर्छ भनिएको छ । भिडियो निर्देशन पनि गीतकार डब्बु क्षत्रीले गरेका हुन् भने भिडियोको निर्मातामा विलक्षण क्रियसन रहेको छ ।
गीतको भिडियोमा मोडल, सञ्चारकर्मी एवम् गायिका सरिता भारतीले अभिनय गरेकी छिन् । एक युवतीको चाहनामा गीत केन्द्रित भएकाले भिडियोमा पनि सरिताको एकल अभिनय प्रस्तुत गरिएको हो । गीतको भिडियोका सम्पूर्ण दृष्य मलेशियामा छायांकन गरिएको हो ।
मलेशियाको समुन्द्र किनार देखि विभिन्न रमणीय स्थलमा यो भिडियोलाई यात्रा शैलीमा छायांकन गरिएका यसका छायांकन एवम् फोटो पत्रकार बद्री थापाले बताए । गीतको सम्पादन तथा रंग संयोजन बीरेन्द्र भाट ‘बिपिन’ले गरेका हुन् ।