ब्युटी न्युज नेपाल
काठमाडौं, ४ मँसिर

नवौं सस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड यस पटक विभिन्न ३१ विधामा प्रदान गरिने भएको छ । ७ मँसिर शुक्रबार काठमाडौंमा कमलदी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने नवौं संस्करणको रमपम विन्ध्यवासिनी म्युजक अवार्ड समारोहको तयारी अन्तिम चरणमा पुगेको अवार्ड संयोजक सुवास रेग्मीले जानकारी गराएका छन् ।

उनका अनुसार प्रतिस्पर्धामा रहेका गीत, संगीत र एल्बम निर्णायकको ५० प्रतिशत, एसएमएस भोटका आधारमा ४५ प्रतिशत र आयोजकबाट आएको ५ प्रतिशत अंकको आधारमा सर्वोत्कृष्ट छानी अवार्ड प्रदान गरिनेछ ।

आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसनले समारोहमा यस वर्ष नगद १ लाख रुपैयाँसहितको यो वर्षको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०७५’बाट संगीतकार शक्ति बल्लभ श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
फाउन्डेसनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुरर्याउँदै आएका कारण शक्ति बल्लभलाई सम्मान गर्न लागिएको जनाएको छ ।

आगामी शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने नवौं संस्करणको रमपम विन्ध्यवासिनी म्युजक अवार्ड समारोहमा शक्ति बल्लभलाई लाइफ टाइभ एचिभमेन्ट अवार्डबाट सम्मान गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष लिना शर्मा रेग्मीले जनाएकी छन् ।

उनका अनुसार यसपटक १५ हजार ५१५ रुपैयाँको ‘संगीत रत्न सम्मान–२०७५’ सहित गायक सुगम पोखरेल सम्मानित हुनेछन् । सोही कार्यक्रममा २५ हजार ५२५ रुपैयाँसहितको ‘कला पत्रकारिता सम्मान’बाट रमण घिमिरे र १० हजार १ रुपैयाँसहितको चलचित्र सम्मानबाट निर्देशक मिन भामलाई सम्मानित गरिने भएको छ ।

‘हामीले जय गीत जय संगीतको नारासहित पैसा कमाउने उद्देश्यले नभई नेपाली गीत संगीत र श्रष्टा सम्मानका लागि विन्ध्यवासिनी फाउन्डेसनले यो अवार्डको आयोजना गर्दै आएको हो’ संयोजक रेग्मीले भने, ‘अवार्डलाई पहिलेझंै सभ्य र भव्य ढंगले सम्पन्न गर्नेछौं ।’