रोजको कन्सर्टमा प्रदीपले गुलाब दिँदा युवतीहरु भुतुक्कै


व्युटी न्युज नेपाल
धरान १७ भदौ

अभिनेता प्रदीप खड्कालाई इटहरी र धरानका युवतीहरुलाई रोज (गुलाबको फुल) बाँढेर मन्त्रमुग्ध तुल्याएका छन् । आईतबार उनले इटहरी र धरानका युवतीहरुलाई प्रेमको प्रतिक स्वरुप रातो गुलाब बाँढे ।

करिब तीन घण्टा अघिदेखी इटहरीको आई सिनेमा हलअगाडी एक युवती नायक प्रदीपलाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १ बजे कन्सर्टका लागी आउँदैछौं भन्ने जानकारी पाएर बिराटनगरबाट दिउँसो ११ बजेनै आएकी अस्मिता नाम गरेकी एक युवतीले प्रदीपलाई हेर्नकै लागी तीनघण्टा कुरिन् । दुईबजे कन्सर्ट सुरु भएपछि प्रदीपले पनि स्टेजबाटै धेरै युवतीलाई गुलाबको फूल बाँडे । जसमध्ये अस्मिताले पनि गुलाबको फूल पाइन् । आफ्नो प्रिय नायकको हातबाट गुलाब पाउँदा अस्मितामा खुसीको सिमा रहेन ।

नायक प्रदीप खड्का, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायत यतीबेला चलचित्र ‘रोज’को प्रमोसनका लागि मोफसलमा यात्रामा छन् । टिमले आइतबार इटहरी र धरानको कन्सर्ट सम्पन्न गरे ।

इटहरीमा दिउँसो १ बजेपछि धरानको भानुचोकमा साँझ ५ बजे कन्सर्ट सम्पन्न भएको थियो । नायक प्रदीपकै लागी भेट्न आएका युवा युवतीहरुलाई प्रदीपले स्टेजबाटै थुप्रै गुलाबको फूल, चलचित्रको नाम लेखिएको टिसर्ट बाँडेका थिए ।

प्रदीपले लगातार केहिदिन देखी देशका बिभिन्न ठाउँमा गरिएको कन्सर्ट भन्दा इटहरी र धरानमा अझ धेरै दर्शकको साथ मिलेको बताए,‘म यो भन्दा अघिका चलचित्रका लागी पनि यसैगरी कन्सर्टका लागि आएको थिए, त्यतिखेर पनि दर्शकले निकै ठुलो साथ दिनुभएको थियो, आजपनि त्यो भन्दा ठुलो साथ पाएँ’ प्रदीपले भने । यस्तै उनले थुप्रै फ्यानहरुसँग तस्बिर खिचाएका थिए ।

मिरुनालाई धरानमा भव्य स्वागत

चलचित्रकी नायिका मिरुना मगरलाई धरानमा भव्य स्वागत गरियो । धरान पुग्दा नायिका मिरुनालाई उनका फ्यानले बिशेष स्वागत गरे । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’लेखेको पोष्टर लिएर उनलाई भेट्ना आएका थिए । मिरुनाले धरानको स्टेजबाट म धरानकी चेली भनिरहँदा धरानबासीको हुटिङ खुबै सुनिन्थ्यो ।

स्टेजबाट अभिनेत्री पारमिताले पनि चलचित्रको बिषयमा जानकारी गराउँदै दर्शकको मन जितिन् । गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले चलचित्र ‘रोज’को ‘फूल हैन…’बोलको गीत गाउँदा दर्शक मज्जैले नाँचेका थिए । यस्तै हाँस्य कलाकार दिनेश काफ्ले र सन्ध्या थापाले कार्यक्रम सञ्चालन गरेका थिए । दिनेशका कमेडी सम्वादले दर्शकले थप मनोरञ्जन लिइरहेका थिए ।

चलचित्र युनिट (सोमबार) झापा पुग्दै छ । सोमबार झापाका दमक र बिर्तामोडमा कन्सर्ट सकेलगत्तै मोफसलको कन्सर्ट सकिने चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगरले जानकारी दिए । बुद्धिका अनुसार काठमाडौंमा मंगलबार दुईठाउँमा कन्सर्ट गरेसँगै देशब्यापी कन्सर्ट सकिनेछ ।

उद्धव पौडेलको प्रस्तुतीमा निरक पौडेलले निर्देशन गरेको यो चलचित्र यहि भदौको २२ गतेबाट प्रदर्शनमा आउँदैछ । आरोही फिल्मस्का लागि मणिकरण केसीले रोज निर्माण गरेका हुन् ।