भैरे, चक्कर र पण्डित बाजेको लौरीको व्यापार मध्यम


रिलिज चलचित्रको व्यापार 
व्युटी न्युज नेपाल
राजधानी ५ साउन

यो शुक्रबार ४ साउनबाट तीनवटा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आए । शुक्रबारबाट एभरेस्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’, अनुष्क रौनियार निर्देशित चलचित्र ‘चक्कर’ र अमर ओली निर्देशित चलचित्र ‘पण्डित बाजेको लौरी’ देशव्यापी रूपमा एकसाथ प्रदर्शनमा आएका हुन् ।

तर तीन ओटै चलचित्रको व्यापार मध्यम रहेको सम्बन्धित हल सञ्चालकहरुको भनाई छ । यी तीन चलचित्रको व्यापार शुक्रबार भन्दा शनिबार केही राम्रो भए पनि प्रसँसायोग्य नभएको पनि हलको रिपोर्ट छ ।
यी तीन ओटै फिल्म भन्दा इशान खट्टर र जान्ह्वी कपुर अभिनित बलिउड फिल्म ‘धडक’को व्यापार माथि छ ।

यी तीन ओटै नेपाली चलचित्रले क्युएफएक्स मल्टिप्लेक्समा विहानकै शोमा सिमित हुनु पर्यो । बरु सिँगल थिएटरमा भैरेको व्यापार बाँकी दुई फिल्मको भन्दा केही माथि देखिएको छ । उपल्लो मुस्ताङमा छायांकन गरिएको भैरेमा भैरेको भूमिकामा दयाहाङ राई छन् ।

सामाजिक प्रेमकथामा आधारित भनिएको यो चलचित्रमा बिक्रान्त बस्नेत, वर्षा सिवाकोटी, वुद्धि तामाङ, सुरक्षा पन्त, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरीलगायतको अभिनय छ । निर्मातामा प्रेमप्रसाद पौडेल, देवीमाया अधिकारी, लेखबहादुर पुन तथा सह निर्मातामा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत हुन् ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको भैरेको कथा निर्देशक बोहराले नै लेखेका हुन् । जसमा पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको हो । यो चलचित्रमा बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत छ । कविराज गहतराजको नृत्य निर्देशन, सूर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन यसमा छ ।

चलचित्र चक्करको व्यापार मध्यम छ । यो मुलुकका करिब ४० वटा हलमा रिलिज भएको छ । यसले पनि क्युएफएक्समा दुई शो पाएको छ । बाँकी मल्टिप्लेक्समा पनि केही स्थान पाएको छ । तर यसले सिँगल थिएटर धेरै पाएको छैन । मल्टिप्लेक्समा यसको व्यापार मध्यम छ । यसका निर्माता तथा छायाँकार रबिन आचार्यका अनुसार यो चलचित्र अपराध विषयमा आधारित छ ।

यो चलचित्रमा ऋचा घिमिरे, अर्पण थापा, सृजना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटा, सुन्दर श्रेष्ठ, एभोनराज उप्रेतीलगायतको अभिनय रहेको छ । अनुष्क रौनियारको निर्देशनमा चक्कर तयार भएको हो । निर्देशक अनुष्कले क्राइम ड्रामा तथा सस्पेन्स थ्रिलर जनरामा फिल्म बनेको बताएका छन् ।

नियमित रूपमा बन्दै आएका नेपाली चलचित्रभन्दा केही पृथक बाटोमा रहेर चक्कर बनाएको उनको भनाइ छ । सेक्स भर्सेज क्राइम चलचित्रको थिम भएको पनि उनले खुलाएका छन् । जसमा संगीत संगम पन्त र पुष्प पलाञ्चोके, छायांकन रबिन आचार्यको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र पण्डित बाजेको लौरी मुलुकका करिब ६० हलमा लागे पनि यसको व्यापार राम्रो नभएको हल सञ्चालकहरुको भनाई छ । यसले पनि क्युएफएक्समा जम्मा दुई शो पाएको छ । सिँगल थिएटरमा पनि पण्डित बाजेको लौरीको अबस्था उत्साहजान नभएको हल सञ्चालकहरुको भनाई छ ।

यो फिल्ममा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतका कलाकारको अभिनय छ । पण्डित बाजेको लौरीलाई दीपक ओलीले निर्देशन गरेका हुन् । यो हास्यप्रधान चलचित्र हो । सुदूरपश्चिममा रहेको बादी समुदायको कथामा यो चलचित्र केन्द्रित छ ।