‘ह्याप्पी डेज एनआरएनको संघर्षमा आधारित सिनेमा हो’ ः मिलन चाम्स्


एकै वर्षमा चार ओटा चलचित्र निर्देशन गर्ने नेपाली निर्देशक हुन मिलन चाम्स् । आधा दशक अघि चलचित्र हँसियाबाट व्यबसायिक चलचित्र निर्माण निर्देशनमा उत्रिएका मिलनले त्यसपछि बीर बिक्रम, ह्याप्पी डेज, ब्लाईन्ड रक्स, लिली बिली, बबी जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । जस मध्य बीर बिक्रम र लिली बिलीले राम्रो व्यापार गरिसकेको छ भने १४ बैशाखबाट उनको चलचित्र ह्याप्पी डेज मुलुकका ६६ भन्दा बढी सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । १६ वर्ष बेलायत बसेर त्यहाँ विभिन्न म्युजिक भिडियो निर्देशनपछि चलचित्र निर्देशनका लागि नेपाल आएका मिलनले चलचित्र ह्याप्पी डेज र लिली बिलीको छायाँकन पनि बेलायतमै गरे । यतीबेला प्रदर्शन भईरहेको चलचित्र ह्याप्पी डेजबारे निर्माता एवम् निर्देशक मिलन चाम्ससँग व्युटी न्युज नेपालका तर्फबाट गरिएको कुराकानीको मुख्य अँश तर्फ लागौं ।

 

१४ बैशाखबाट प्रदर्शनमा आएको तपाईंको चलचित्र ह्याप्पी डेजको व्यापार कस्तो छ ?
शुक्रबार पहिलो दिन सोचेको भन्दा राम्रो व्यापार भएको छ । ह्याप्पी डेज हेर्ने दर्शकहरुले साह्रै राम्रो चलचित्र भन्नु भएको छ । शनिबार बिहानीको शो पनि निकै राम्रो छ । ११ बजेको शो सबै जसो सिनेमा हलमा हाउसफुल छ । सोमबार र मँगलबार दुई दिन बिदा परेकाले यसले त्यतिबेला पनि राम्रो गर्नेमा हामी विश्वस्त छौं ।

 

ह्याप्पी डेज कस्तो सिनेमा हो ?
– ह्याप्पी डेज एनआरएनको संघर्षमा आधारित सिनेमा हो । एउटा नेपाली बिदेशमा गएर रोजगार तथा व्यबसायमा लाग्दा उसले गर्नु पर्ने संघर्ष, उसका पीडाहरु, सफलता तथा असफलताका कथा यो चलचित्रमा छ । जसमा अभिनेत्री प्रियँका कार्की बेलायतकै ‘सिटिजन होल्डर एनआरएन’को भूमिकामा छिन् । दयाहाङ नेपालबाट विभिन्न संघर्षपछि बेलायत पुगेर त्यहाँ पनि संघर्ष गरिहेको एक युवाको रुपमा छन् ।

 

एनआरएनकै कथाव्याथामा यो चलचित्र बनाउनुको कारण नी ?
– म करिब डेढ दशक बेलायत बसें र त्यो क्रममा मैले एनआरएनको पीडालाई नजिकबाट नियाल्ने अबसर पाएँ । त्यो अबसरसँगै अन्य देशका एनआरएनका समस्याबारे बुझेर पनि ह्याप्पी डेजमा उनीहरुको कथाव्याथा राखिएको हो ।

 

एनआरएनको कथा भएका कारण बिदेशमा छायाँकन गरिएको हुन सक्छ । तर बेलायतमै छायाँकन गरिनुको कारण नी ?
– म लामो समय बेलायत बसेकाले त्यहाँ ह्याप्पी डेजको छायाँकन गर्न सजिलो थियो । अर्को कुुरा यो चलचित्रका निर्माता विपी खनाल, भवानी शर्मा र हिराल जोशी पनि बेलायतमै बस्नु हुन्छ । चलचित्रलाई त्यहाँ छायाँकनको जिम्मा बेलायतका निर्माताहरुले लिनु भएको र त्यहाँ छायाँकन गर्दा धेरै कुरा सजिलो भएका कारण पनि ह्याप्पी डेजलाई बेलायतको लण्डन, वेल्स्, स्कटल्याण्ड लगायतका स्थानमा छायाँकन गरेका हौं ।

 

चलचित्रको प्रचार प्रसारमा दयाहाङ राई, प्रियँका कार्की लगायतका कलाकारले साथ नदिएको भन्ने गुनासो सुनियो नी ?
– कुरा सही हो । दयाहाङ अहिले दार्जिलिङमा एउटा चलचित्रको सुटिङमा बिजी भएको र प्रियँकाको पनि दुई ओटा फिल्मको सुटिङ चलिरहेको छ । यही कारण पनि उहाँहरुले ह्याप्पी डेजको प्रचारमा समय नदिएको होला । कलाकारहरु प्रचारमा साथ भएको भए अझ राम्रो हुने थियो । तैपनि दर्शकको माया हामीले यतीबेला पाएका छौं । हामी त्यसैमा खुसी छौं ।

 

त्यसो त चलचित्र लिली बिलीको छायाँकन पनि बेलायतमै गर्नु भयो नी ?
– हो, ह्याप्पी डेजको छायाँकन बेलायतमा गरेपछि हामीलाई लिली बिलीको छायाँकन पनि बेलायतमै गर्न सजिलो भयो । तर यी दुबै फिल्म अलग अलग ठाउँमा छायाँकन गरिएकाले कुनै पनि दृष्य मिल्दैनन् । दुबै चलचित्र दृष्यका हिसाबले अति सुन्दर बनेका छन् ।

 

अरु पनि चलचित्र बेलायतमा छायाँकन गर्ने लक्ष्य छ की ?
– लिली बिली र ह्याप्पी डेजलाई दर्शकले रुचाई दिनु भएकाले अब अन्तराष्ट्रिय स्तरको फिल्म बेलायतको व्यानरसँग मिलेर बनाउने योजना छ । त्यसमा सगरमाथा, बुद्ध र गोर्खालीलाई मुख्य बिषयबस्तु बनाउँदैछु । यो फिल्म करिब ५ करोडको बजेटको हुने छ । त्यो भन्दा अघि दुई ओटा फिल्म म नेपालमै छायाँकन गर्ने तयारीमा छु ।

 

ह्याप्पी डेज कती बजेटको फिल्म हो ?
– यो करिब दुई करोडको फिल्म हो । दयाहाङ, प्रियँका, विकी जोशी, दीया पुनसहित केही बेलायती कलाकारको पनि यसमा अभिनय छ । यस अघि बेलायत क्यानाडामा रिलिज गरिएको यो चलचित्र ती मुलुकमा नेपाली दर्शकले निकै मन पराउनु भयो । अब यसलाई हङकङ, अमेरिका लगायत विभिन्न मुलुकमा पनि प्रदर्शन गर्दैछौं ।