मुलुकका एक सय २६ हलमा शत्रु गते, बहुसँख्यकमा हाउसफुल


काठमाडौं, ९ चैत

शुक्रबारबाट मुलुकका एक सय २६ ओटा सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र शत्रु गतेले पहिलो दिनको दोस्रो सो सम्म देशव्यापी सफलता पाएको छ ।

शत्रु गतेले बिहानीको पहिलो सो बाटै राम्रो पिक अप लिएको छ । काठमाडौंका क्युएफएक्समा २८ ओटा सो पाएको यो फिल्मले शुक्रबार ११ बजेको शोमा धेरै जसोमा हाउसफुल भएको समाचार छ । पहिलेसम्म क्युएफएक्समा सबै भन्दा बढी सो पाउने शत्रु गतै नै हो ।

यस्तै काठमाडौंका बिग लगायतका मल्टिप्लेक्स, गोपिकृष्ण, अष्टनारायण सहित सबै जसो सिँगल थिएटरमा पनि शुक्रबार दिउँसो दर्शकको उल्लेख्यमा भिड देख्न पाईएकोछ । काठमाडौं बाहिर पनि पोखरा, बुटबल, नारायणघट, बिर्तामोड, हेटौंडा लगायतका मुख्य शहरका मल्टिप्लेक्समा शुक्रबार ११ बजेको शो हाउसफुल भएको सम्बन्धित हल सञ्चालकहरुले बताएका छन् ।

शत्रु गतेले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म पूर्ण मनोरञ्जन प्रधान भएको दर्शकले बताएका छन् । साना तिना कमजोर बाहेक सिनेमा औंल्याउन ठाउँ नभएको र मह जोडीले मनोरञ्जनको फुल प्याजेकको सिनेमाको रुपमा शत्रु गते ल्याएको क्युएफएक्स पोखरामा भेटिएका दर्शकले बताए । पहिलो दिनको व्यापार, दर्शकको सकरात्मक प्रतिक्रिया हेर्दा शत्रु गतेले कम्तीमा दुई साता राम्रो व्यापार गर्ने देखिन्छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममार्फत मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्य १७ वर्ष पछि सिनेमा निर्माणमा एवम् एक दशकपछि फिल्म अभिनयमा फर्किएका हुन् ।

मह जोडी सहित दीपकराज गिरी, दीपाश्री निरौला, प्रियँका कार्की, शिबहरि पौडेल, किरण केसी सहितको अभिनय यसमा छ । यो फिल्मको रुपै मोहनी…गीतले अहिले चर्चाको शिखर चुमेको छ ।