दुई दशकपछि नयाँ चलचित्र सारथीमा उत्तम र निरुता, काठमाडौँमा मूहुर्त


ब्युटी न्युज नेपाल
पोखरा, ७ बैशाख

एक समयको ब्लक बष्टर चलचित्र चालचित्र ‘दर्पण छायां’को हिट जोडी उत्तम प्रधान र निरुद्धा सिंह करिब दुई दशकपछि चलचित्रको पर्दामा सँगै देखिँदैछन् । नव निर्देशक कुमार गजुरेलले आफ्नो डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा सारथी’मा उत्तम र निरुतालाई सँगै उतार्दै छन् । यो चलचित्रको सोमबार बिहान शुभमुहूर्त गरिएको छ । काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो ।

यो सिनेमाको शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित थिए । अतिथिका रूपमा नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्तयाल पनि सहभागीता रह्यो । यता अभिनेत्री सिंह सिनेमाको शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन् । उत्तम भने वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा जोडिने तयारीमा छन्

वैशाख ९ गते बुधबारबाट सिनेमाको गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा सारथीको छायांकन गरिने निर्देशक गजुरेलले बताए । किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको हो ।

सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ । सौर्यल थापा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी अनि लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन् ।

यो सिनेमाबाट बरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो नेपाली सिनेमामा खर्चिएको सम्पादनको अनुभव सहित दर्शकलाई एक उत्कृष्ट कथा पस्किने हेतुले निर्माणमा होमिएको निर्माता थापा बताउँछन् ।