काठमाडौं, २० फागुन

चलचित्र द्वन्द्व निर्देशक एवं खलनायक राजेन्द्र खड्कीलाई अन्तत जेल चलान गरिएको छ । उनलाई मानव बेचबिखनको मुद्दामा खड्गी पूर्पक्षका लागि जेल चलान गरिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार दिएको आदेश अनुसार खड्गीलाई पूर्पक्षका लागि काठमाडौंको सुन्धारा स्थित केन्द्रीय कारागरमा राखिएको छ ।

कराते (योयामा) गुरूको बृत्तचित्र निर्माण गर्ने भन्दै जापानबाट कोरिया खड्गीले ११ नेपालीलाई उतै छाडेको आरोप सहित कोरियन दूतावासले नेपाल सरकारलाई उजुरी दिएपछि खड्गीलाई प्रहरी पक्राउ गरी तीन साता यताबाट अनुसन्धान गरिरहेको थियो ।

 

खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो । उजुरी पछि मुख्य नाइके एवम् उनीहरुलाई कोरिया भिसा लगाउँदा जमानी बसेका खड्गीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीले बताएका छन् । अब खड्गी माथि लागेको आरोप प्रमाणित भएमा उनी बढीमा २० वर्षसम्म जेल बस्नु पर्ने हुन्छ ।

केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहँदा खड्गीले आफ्ना गुरूको डकुमेन्ट्री बनाउने क्रममा आफ्ना साथीहरूले धोका दिएकाले आफू जेलमा बस्नुपरेको सञ्चार माध्यमलाई बताएका थिए ।

कोरिया गएर उतै लुकेकाबाट आफूले एक पैसा पनि नलिएको खड्गीको दाबी थियो,‘कोरिया लुकेका ११ जनाबाट मैले एक पैसा खाएको छैन, उनीहरुले मेरा लागि भनेर एक पैसा पनि दिएका छैनन्, बृत्तचित्रका उनीहरू पनि हुन्, बिचैमा धोका दिए के गर्नू ?’ उनले भनेका थिए ।