आपसी रिसईबीले ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ चैत

फागु पूर्णिमा सकिँदै गर्दा आइतबार मध्यराति ललितपुरको ढोलाहिटीमा ३० वर्षीय पुजन राई र २८ वर्षीय रोबस राईको हत्या भएको छ । उनीहरुको हत्या दुई समुहको झगडाको कारण भएको प्रहरीले जनाएको छ । घटनाको मूल कारक पुरानो तुस नै देखिएको प्रहरीको दाबी छ । गत तिहारमा छेङ्विहाङ राई र साहिल श्रेष्ठबीच झगडा भएको ललितपुर प्रहरीको कथन छ । सोही झगडबाट सुरु भएको रिसईबीले अन्तत दुबै जनाको ज्यान गएको छ ।

घटना विवरण अनुसार त्यही पुरानो तुस छेङ्विहाङले विशाल राईसँग पोखे । त्यसपछि विशालका साथी साहिल श्रेष्ठसँग छेङ्विहाङको भनाभन भयो ।स्थान डी पोपिना रेस्टुरेन्ट ढोलाहिटी, ललितपुर । समय आइतबार रातिको हो । जुन रेस्टुरेन्ट खोटाङका तीन युवा विजय राई, सुलभ राई र भुपाल राईले छ महिनाअघि खोलेका हुन् । चापागाउँ वृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृृष्ण चन्दका अनुसार सोही रेस्टुरेन्टमा भनाभनपछि रेस्टुरेन्ट सञ्चालक विजय राईबाट अन्ततः हत्यासम्मको घटना भयो ।

घटनाको अनुसन्धान गर्नेमध्येका एक जना प्रहरी अधिकृत डिएसपी चन्दले बताएअनुसार आइतबार होलीको दिन साँझ विशाल हाङ राईको ग्याङ बसेर रक्सी पिइरहेको थियो । केहीबेरमा छेङ्विहाङ राई र पूजन राईसहितको चार जनाको टोली पनि सोही रेस्टुरेन्टमा पुग्यो । दुवै ग्याङ झगडालु हुन् । त्यही भएर त छेङ्विहाङले तिहारको तुस निकाले । जुन प्रसंगलाई लिएर आरोपप्रत्यारोप चल्दै गयो । चर्काचर्की भयो । विवादले उग्र रुप लिने देखेपछि होटल सञ्चालक सुलभ राईले विशाल राईलगायतलाई सम्झाइबुझाइ गरे । झगडा मत्थर भएन । यसपछि सुलभले विशाल राईको समूहलाई बाहिर पठायो । छेङ्विहाङ र पुजनलगायत भने होटलभित्रै थियो ।

डिएसपी चन्दका अनुसार बाहिर निस्किएपछि विशाल हाङ राईले रेवश राईलाई फोन गरेर बोलाए । रेवश सो समूहका अगुवा थिए । विशालले उनीसँग होटल सञ्चालकले आफूलाई बस्न नदिएर अपमानजनक ढंगबाट निकालेको पोल सुनाए । रिसले चुर भएका रेबस होटलभित्र गए । सञ्चालकसँग आक्रोश पोखे । निहुँ खोजे । जहाँ विशाल पनि थिए । उनीहरूको भनाइ थियो, ‘हामीलाई किन बाहिर निकालियो ।’ रेबशले त्यहीबेला होटल सञ्चालकलाई थर्काउँदै भने, ‘मेरो केटाहरूलाई हेप्ने को हो ? बाहिर कसले निकालेको ? यसपछि उनीहरुबीच लफडा सुरु हुन्छ । सञ्चालकमध्येका सुलभसँग पनि रेबश र विशालको भनाभन हुन्छ । अनि, अर्का सञ्चालक विजय पनि आइपुग्छन् । पहिले सम्झाएर पठाएको तर ग्याङ बोलाएर ल्याएको भन्दै उनी आक्रोशित हुन्छन् । जो यसअघि नै लागुऔषधसम्बन्धी कसुरमा जेल बसेर निस्किएका व्यक्ति हुन् । उनै विजयले केही छिनमै हात हालाहालको स्थिति भएपछि किचनमा गएर चक्कु ल्याएर पुजनलाई तिघ्रामा प्रहार गर्छन् ।

घटनाको अनुसन्धान गरेका डिएसपी चन्दका अनुसार पुजन त्यसपछि ढल्छ । उठाएर विशाल र सुलभले भित्र लैजान्छ । बाहिर भने विजय र रेवशको हानाहान हुन्छ । त्यहीबेला विजयले रेवशको पेट र छातीमा चक्कु प्रहार गर्छन् । सडकको किनारमा ढल्छन् । यस्तो अबस्था आएपछि घटना साम्य हुन्छ । त्यसबेलासम्म त तेह्रथुमका राजु गुरुङ पनि आइपुग्छन् । उनै गुरुङले रेबशलाई चक्कु हानी ढालेका विजयलाई मोटरसाइकलमा चढाएर भगाउँछन् । बाँकीले रेबशलाई ट्याक्सीबाट पाटन अस्पताल लान्छन्, पुजनलाई भने सुमेरु । तर, दुवैलाई डाक्टरले पु¥याएलगत्तै मृत घोषणा गरे । साढे चार महिनाअघिको तुसका कारण भएको झगडाबीच दुई जनाको ज्यान गयो ।

रातिको करिब ११ बजेको थियो । पाटन अस्पतालमा रेवश र सुमेरुमा पुजनलाई लगियो । चिकित्सकहरूले दुवैलाई अस्पताल पु¥याएलगत्तै मृत घोषणा गरे । अनि, मात्रै प्रहरीले घटनाबारे थाहा पायो । लगत्तै प्रहरी घटनाको अनुसन्धानमा जुट्यो । अन्ततः घटनास्थलमा रहेको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी)मा देखिएको दृश्यका आधारमा सोही रातिसम्ममा १८ जनालाई नियन्त्रणमा लियो ।

मंगलबार पत्रकार सम्मेलन गरेर प्रहरीले चार जनालाई मात्रै सार्वजनिक गरेको छ । होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भई हाल ललितपुरको जैनखेल बस्ने ३१ वर्षका विजय राई र सोही होटलका सञ्चालक खोटाङकै साकेला गाउँपालिका–२ रतन्छा घर भई हाल ललितपुर–१५ खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई सार्वजनिक गरिएको हो । उनीहरूविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको पत्रकार घेटघाटका क्रममा जानकारी गराईयो । प्रहरीका अनुसार दुवैजनाको हत्या चक्कु प्रहारबाट भएको हो ।

प्रहरीले होटलमा विवादको सुरुआत गर्ने भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ घर भई ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राईविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।

घटनामा छ जनाको भने संलग्नता नखुलेको प्रहरीको भनाइ छ । उनीहरू छाडिएका छन् । अन्य आठ जनालाई प्रहरीले शंकास्पद मानेको छ । मृतकका आफन्तले पाँच जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन् । हाल चक्कु प्रहार गर्ने विजय राईलाई मोटरसाइकलमा भगाउने राजु गुरुङ भने फरार छन् । उनीहरुको खोजी भईरहेको ललितपुर प्रहरीले जनाएको छ।