इजरायल घटनामा १० नेपालीको मुत्यु, मृतकको शव चाँडो नेपाल ल्याउने


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज

इजरायल र प्यालेस्टाईनको भिषण आक्रमणमा १० जना नेपालीको ज्यान गएको छ । घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको जनाएको छ । शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायलमा हाल ४५ सय नेपाली केयरगिभरका रूपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २ सय ६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरू नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले संसदमा जानकारी दिए । मन्त्री साउदले आजै १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने जानकारी गराएका थिए ।

गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका सात जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै बताएका थिए । ‘सात जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अरू थप विवरण आएको छैन । हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौं,’ आइतबार दिउँसो ओलीले भने ।

यता नेपाल सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । यो विषयमा अहिले पनि परराष्ट मन्त्रालयमा बैठक बसिरहेको छ । घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेसनको तयारी भइरहेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्यरुपमा सञ्चालनमा रहेको र हवाईमार्गमार्फत आवतजावत सुचारू भइरहेको जानकारीसमेत प्राप्त भएको मन्त्रालयको भनाइ छ ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकको निर्देशनअनुसार परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको गरिएको छ । उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ । द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीको यथाशीघ्र उद्धार गर्न नेपाल सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीको सम्पर्क विवरण उपलब्ध गराइएकाले उहाँहरूमार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहनुहुन अनुरोध गरिएको छ ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।