काठमाडौं । इटहरीबाट जीवन यापनका लागि डेढ दशक अघि काठमाडौं आउँदा पवनी धामी (सोनु) सँग कुनै सिप थिएन् । काठमाडौं बसाईको क्रममा रोजगारको लागि केही सिकौं भन्ने लाग्यो ।
श्रीमान किर्तन धामीको प्रेरणाले उनी व्युटीसियन प्रशिक्षणमा लागिन् । डेढ वर्षको व्युटीसियन प्रशिक्षण लिएपछि पवनीले सि.टि.इ.भि.टी.को नेशनल स्किल टेस्टिङ बोर्डबाट फस्ट लेभलको परीक्षा उतिर्ण गरिन् । यसपछि आधिकारिक रुपमा व्युटीसियन भएर पवनीको यो पेशा सुरु भएको हो ।
बिगत ६ वर्ष देखि व्युटिसियन पेशा अँगाले पनि उनले आफुलाई व्यबसायिक रुपमा उतारेको चार वर्ष भयो ।


नयाँ बानेश्वर स्थित आईबिटिसी (इन्टरनेशनल व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर)की शशी शाहबाट सुरुका दिनमा व्युटीकलामा डिप्लोमा कोर्स गरेकी पवनीले त्यहीं दुई वर्ष सेवा गरिन् ।
यसरी प्रशिक्षण पछि आईबिटिसीबाट यो सिपमा उनको दक्षता बढ्यो । दक्षताले आत्मविश्वास बढाएपछि भएपछि पवनीलाई आफ्नै पार्लर व्यबसाय सुरु गर्न सकिन्छ भन्ने हिम्मत जाग्यो । त्यसपछि उनले ललितपुरको कुपाण्डोल (गुरुद्धारा मार्ग)मा आफ्नै एकल स्वामित्वमा ‘सिद्धी व्युटी पार्लर एन्ड केस्मेटिक’ सुरु गरिन् ।
यसरी सुरु गरेको केही समयमै उनले आफ्नो पार्लर स्थापित गरिसकेकी छिन् । अहिले कुपण्डोल क्षेत्रमा सिद्धी व्युटी पार्लरले लोकप्रियता हाँसिल गरिसकेको छ ।


पवनीका अनुसार यो पार्वल तथा कस्मेटिक सेन्टरबाट दैनिक पाँच देखि १० हजारसम्म व्यापार हुन्छ । अझ विवाहको सिजनमा त दैनिक २५ हजारसम्म पनि व्यापार हुने गरेको उनले गर्वसाथ भनिन् ।
सात वर्ष अघि गृहिणी हुँदा पवनीको कमाई कत्ति पनि थिएन । त्यतिबेला उनले घर चलाउन देखि अन्य कार्यका लागि आबस्य खर्चमा श्रीमानमाथि नै निर्भर हुनु पथ्र्यो । तर अहिले आफ्नो आम्दानी राम्रो रहेको र सो आम्दानीले छोरी पढाउनुका साथै घर चलाउन पनि सजिलो भएको पवनीले बताईन् ।
सिद्धी व्युटी पार्लर एन्ड कस्मेटिकको कमाईले पवनीले कुपण्डोलमै अर्को पार्लरमा पनि साझेदारी गरेकी छिन् । यही पार्लरलाई अझ सुविधासम्पन्न बनाउने योजना उनले सुनाईन् ।
नारीहरु गृहिणीको रुपमा भान्सा र घरमै सिमित हुनु भन्दा आत्म निर्भर हुन सिप सिक्नु पर्ने पवनीको भनाई छ । व्युटी सेवासँगै यो पेशामा आउन चाहनेका लागि व्युटिसियन सम्बन्धि सिप पनि सिकाउँदै आएकी उनी एउटी गृहिणीबाट अहिले सफल व्युटिसियन भएकोमा यो पेशाबाट खुसी छिन् । आफ्नो कमाईले मासिक दुइ÷तीन लाख रुपैयाँ सजिलै बचाउन सकिने उनले बताईन् ।
व्युटिसियन भएपछि श्रीमती पवनीको आम्दानीसँगै जीवनशैली फेरिएकोमा श्रीमान किर्तन धामी पनि प्रफुल्ल छन् । श्रीमान श्रीमतीको कमाईले अहिले मासिक केही रकम बचाएर अन्य क्षेत्रमा लगानी गर्न सकेको किर्तनले बताए ।