धुर्मुसले अस्पताललाई दिए ५० थान अक्सिजन सिलिन्डर


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुुस)ले कोरोना सँक्रमित विरामीको उपचारलाई लक्षित गरेर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण गरेका छन् । उनले सोमबार सो सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

संक्रमितलाई आत्मबल बढाउन, डर र त्रासबाट विचलित नहुन आग्रह गर्दै सितारामले महामारीको समयमा मानवता ठूलो रहेकाले अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई अक्सिजन सहयोग गरेको हो भने । धुर्मुस–सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ । हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको कलाकार कट्टेलले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

देशमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै उनी बर्दिवासमा अक्सिजन प्लाट स्थापना गर्ने योजनामा समेत छन् । त्यसको लागि तयारीमा आफुहरु जुट्ने उनको कथन छ ।