काठमाडौं उपत्यकामा बढे सँक्रमित, ललितपुरमा थप ७ जनामा कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

लकडाउन खुलासँगै काठमाडौं उपत्यकामा मोफसलबाट आउने ब्यक्तिहरुको सँख्या बढेको छ । त्योसँगै कोरोना पनि सोही अनुपातमा भित्रिएको छ । बुधबार काठमाडौं उपत्यकामा मात्र १७ जनामा कोरोना संक्रमण भेटियो । जसमा काठमाडौंका ५ महिला र ५ पुरुष, ललितपुरका ३ महिला र २ पुरुष तथा भक्तपुरका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए ।

ललितपुरमा सँक्रमित भेटिएको ७ जनामा ३ स्वास्थ्यकर्मी र ४ जनामा आम नागरिक हुन् । योसँगै जिल्लामा कोरोना संक्रमित  भएर उपचार गराईरहेकाहरुको सँख्या १७ पुगेको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार बुधबार अल्का अपतालका २ र १ जना क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ७ जनामा पोजेटिभ देखिएको हो । डा. गेलालका अनुसार अहिलेसम्म १५ जनामा संक्रमण देखिइसकेको छ ।

संक्रमितहरु ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकासँगै पहिलो पटक गोदावरी नगरपालिकामा पनि पुष्टि भएको छ । बुधबार पुष्टि भएका संक्रमितहरुमा ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोका ३४ वर्षिय महिला, ललितपुर महानगरपालिका वडा नं १४ थसीखेलका ३३ वर्षिय महिला र ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिला रहेका छन् ।

सातदोबाटोमा भेटिएकी संक्रमित महिला अल्का हस्पिटलमा कार्यत स्वास्थ्यकर्मी रहेको कार्यालय प्रमुख डा गेलालले जानकारी दिए । उनका अनुसार गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष र महालक्ष्मी नगरापलिका वडा नं. ८ लुभुका २३ वर्षको महिलामा पनि कोरोना भाइरसको संक्रमण देखीएको हो । संक्रमित भएका पाँचैजनालाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

 यसअघि बाग्मती गाउँपालिकाको प्युटारमा १४ वर्षीय बालिका र भैसीपाटीमा साढे २ बर्षको बच्चामा पनि कोरोना भेटिइसकेको छ । ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु हुनेको संख्या २ पुगिसकेको छ ।