लाहानको अगालागीमा आधा दर्जन पसल जले


ब्युटी न्युज नेपाल
लहान, १८ चैत

अगरबत्तीबाट सल्किएको भनिएको आगोका कारण सिरहाको लहान नगरपालिका–५ गुद्री बजारमा आगलागी भएको छ । सो आगलागीबाट किराना, चामल र हार्डवेयरको पसलमा आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ ।

सो आगलागी मंगलबार बिहान करिब २ बजे भएको हो । आगलागीबाट लखन सहनीको चामल र किराना पसल गरि २ वटा पसल, रामचन्द्र गुप्ताको मसला तथा किराना पसल गरी २ वटा पसल, मनोज गुप्ताको १ वटा किराना पसल र लालबाबु दासको हार्डवेयर पसल जलेको छ ।

त्यहाँ अचानक आगलागी हुँदा पसलभित्र रहेका चामल, मरमसला, दैनिक उपभोग्य किरानाका सामानहरु, हार्डवेयरका सामनहरु जलेको छ ।
यस्तै रामचन्द्र गुप्ताले आफ्नो पसलमा राखेको अन–टेस्ट टिभीएस अपाचे मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । सो अगालागीबाट करिब २० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरतकुमार थापा क्षत्रीले बताएका छन् ।

लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीय, इलाका प्रहरी कार्यालय लहानका डिएसपी क्षत्रीको कमान्डमा खटिएको प्रहरी टोली, सशस्त्र वेस क्याम्प लहानका डिएसपी अर्जुन सापकोटाको कमान्डमा खटिएका प्रहरी टोलीको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

लहान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीका अनुसार आगलागी पुजा गर्न बालिएको (धुप) अगरवत्तीबाट भएको भनिएको छ । तर यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।