चलचित्र संघको अध्यक्षमा मधुसुधन, सबै निर्विरोध चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ पुष

नेपालमा रहेका सिनेमा हल सञ्चालक र सिनेमा वितरकहरुको संस्था नेपाल चलचित्र संघको ४७ औं वार्षिक साधारण सभा तथा अधिवशेनले मधुसुधन प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बिगत झैं यस पटक पनि संघको पुरै नेतृत्व निर्विरोध चयन भएको छ । नव निर्वाचित प्रधान यस अघि संघको महासचिब थिए ।

प्रधानको नेतृत्वमा आएको नयाँ कार्यसमितिमा १३ जना केन्द्रिय सदस्य र चार जना प्रदेशगत सभापति चयन भएका छन् । १३ केन्द्रिय सदस्यमा अशोक शर्मा, अर्जुन श्रेष्ठ, भाष्कर ढुंगाना, देवेन्द्र खड्गी, गोपालकाजी कायस्थ, गोविन्दबहादुर शाही, कपिलप्रसाद दुवा, कुवेर शर्मा, कैलाश ढकाल, निरज कार्की, निरज गुप्ता, बिक्रम पराजुली, त्रिरत्न मानन्धर रहेका छन् ।

यस्तै पूर्वाञ्चलको सभापतिमा चैतन्य बराल, उपसभापतिमा परशुराम चौधरी, पश्चिमाञ्चलको सभापतिमा ओम जैसी, मध्यपश्चिमको सभापतिमा डाक्टर सिंह गुरुङ र उपत्यका सभापतिमा मदनमान बज्राचार्य निर्विरोध चयन भएका छन् ।
यस अघि चलचित्र संघका बरिष्ट उपाध्यक्ष रहेका वीरेन्द्र नारायण श्रेष्ठ पनि संघको अध्यक्षमा आउने तयारीमा थिए । तर मधुसुधन प्रधानले संघको नेतृत्व जिम्मेवारी पूर्वक अघि बढाउने बताएपछि तीन वर्षका लागि श्रेष्ठले प्रधानलाई नै अध्यक्षको बन्न प्रस्ताव गरे । यसरी प्रधान संघमा निर्विरोध चयन भएका हुन् ।

संघको निवर्तमान अध्यक्षमा प्रदीप उदय छन भने बाँकी १३ सदस्यीय केन्द्रिय सदस्य पनि निर्विरोध चयन भएका छन् । अब माघको पहिलो साता बस्ने बैठकले यिनै १३ जना केन्द्रिय सदस्यबाट पदाधिकारी तोक्ने छ ।

संघको निर्वाचन समितिमा पत्रकार शान्तिप्रिय, अभिनेत्री सरिता लामिछाने र अधिवक्ता सूर्य बिमली थिए । संघको ४७ औं अधिवेशनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए । उनले नेपाली चलचित्रलाई प्रदर्शनमा विशेष महत्व दिन हल सञ्चालहरुलाई आग्रह गरे ।

शहरी विकाश राज्यमन्त्री रामबीर मानन्धर, काठमाडौं महानगरपालिकाका प्रमुख विधासुन्दर शाक्यलगायतले उद्घाटन समारोहमा बोल्दै संघको नयाँ कार्यसमितिले नेपालका सिनेमा हल र नेपाली चलचित्रको पक्षमा अझ ससक्त काम गर्ने विश्वास व्यक्त गरे ।