६ मायाँ छपक्कैको उत्साहजनक ब्यापार


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असोज

दीपकराज गिरी, दीपाश्री निरौलाको महत्वकाँक्षी सिनेमा ‘छ माया छपक्कै’ २४ असोज शुक्रबारबाट मुलुकका करिब १० दर्जन सिनेमा घरमा रिलिज भयो । यो चलचित्रले रिलिज भएको दिन भन्दा शनिबार अझ बढी शो पायो । मुलुकभरका सिनेमा हलमा फिल्मको व्यापारमा आईतबार पनि कमी आएको छैन ।

मुलुकमा चीनका राष्ट्रपति सि चिनफिङको आगमनले काठमाडौंको सडक दुई दिनसम्म अस्त व्यस्त भए पनि यो फिल्मको व्यापारमा प्रभाव परेको छैन । फिल्मले आईतबार पनि सबैजसो हलमा दर्शकको राम्रो साथ पायो । सरकारले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका अबसरमा काठमाडौंमा आईतबार पनि सार्वजनिक बिदा दिएपछि आईतबार पनि यो फिल्मले काठमाडौं उपत्यकामा राम्रो व्यापार गरेको छ ।

निख्रिदो दशैं भए पनि दर्शकमा दशैंको उत्साह कायम रहेको र सिनेमा हलमा दर्शकको सो उत्साह उपस्थितिमा पनि देखिएको छ । यसका निर्माता एवम् अभिनेता दीपकराज गिरीले यो फिल्मले व्यापारमा अहिलेसम्मकै रेकर्ड तोडेको दाबी गरेका छन् ।

गिरीले यो फिल्मको व्यापारलाई आश्चर्यजनकको उपमा दिएका छन् । जुन खुसीको खबर हो । चलचित्र ६ मायाँ छपक्कैले दुई दिनमा मुलुकका सिनेमा हलबाट ३ करोड ४५ लाख रुपैयाँ व्यापार गरेको दाबी गरेका छन् ।

अहिलेसम्म बक्स अफिसको रिपोर्ट बाहिर नआएकाले उनको दाबीलाई बजारले विश्वास मानेको छ । चलचित्र ६ मायाँ छपक्कैले शुक्रबार करिब १ करोड ५५ लाख रुपैयाँ र शनिवारको करिब १ करोड ९० लाख रुपैयाँ जतीको ब्यापार गरेको दाबी निर्माता अभिनेता गिरीको छ । बक्स अफिसको रिपोर्ट सार्वजनिक नगरिएका कारण अहिले गिरीको रिपोर्टलाई मानिएको छ ।

चलचित्र ६ मायाँ छपक्कैमा दीपकराज गिरीसँगै केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, सविन बास्तोला, अनुराग सिंह कुँवर, बिष्णु सापकोटा, शिशिर वाङदेलसहितको मुख्य भूमिका रहेको छ ।

यो चलचित्र ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो । यो चलचित्रका मुख्य निर्माता रोहित अधिकारी र कार्यकारी निर्माता जितु नेपाल, केदार घिमिरे हुन् ।

यो चलचित्रलाई दीपेन्द्र लामाले लेखेका हुन् । फिल्मका निर्देशक पनि उनी नै हुन् । सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । सिनेमाको मुख्य बिषयबस्तु राजनीति, पानी र जवानी रहेको छ ।

यद्यपि निर्देशक दीपेन्द्रलाई यतीबेला यो राजनीति, पानी र जवानीको कथा अबधारणा सन २०१५ मा बनेको बलिउड फिल्म ‘कौन कित्ने पानी मे’ भन्ने फिल्मबाट लिईएको आरोप लागेको छ । अवधारणा उस्तै भए पनि कथानकता र प्रस्तुतिकरणमा फरक भएको पनि अर्काथरीको टिप्पणी छ । टिप्पणी जे जस्तो आए पनि दर्शकले यो फिल्म मन पराएका छन् । सिनेमाले जोड तोड व्यापार गरेको छ ।