न्युयोर्कमा ढाकाको फेशन शो


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ भदौं

ललितपुरको ‘द हाइल्याण्ड आर्ट’ तथा ‘कल्पना ढाका बुटिक’ले तयार पारेको ढाका पहिरनहरुको अमेरिकाको न्युयोर्कस्थित एक ब्युटि कन्टेस्टमा फेशन शो गरिएको छ । शोमा सुन्दरीहरु ढाकामा स्टेजमा उत्रँदा दर्शकले ताली बजाए ।

यही १७ अगष्टमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका–२०१९’ नामक सौन्दर्य प्रतियोगिताको सहभागीलगायत चर्चित मोडलहरु विभिन्न डिजाइनका ढाका पहिरनमा उत्रिएका हुन् ।

नेपाली ढाका कपडा तथा पहिरनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै आएकी कल्पनाले भनिन्, ‘यसपटक न्युयोर्कमा शो गरिएको छ । जसले ढाका प्रवद्र्धनमा थप टेवा पुगेको छ ।’ कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका मोडलहरुले ढाका पहिरनमा स्टेज नापेका थिए । उक्त कार्यक्रममा नेपालबाट चर्चित मोडलहरु सहभागी भएका थिए ।

यो प्रतियोगितामा ‘ढाका कलेक्शन’ नाम दिइएको सिक्वेन्समा द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकी प्रोपाइटर तथा डिजाइनर कल्पना योङहाङ लिम्बूले तयार पारेका ढाका पहिरन प्रस्तुत गरिएको थियो । प्रस्तुत मोडलहरु ढाका पहिरनमा गजबले खुलेका थिए । अमेरिकामा यसरी भव्यरुपमा ढाका पहिरन प्रदर्शन गरिएको यो पहिलोपटक हो ।