चितवनमा कलर इसेन्स, नेचर इसेन्सको भव्य तीज कार्यक्रममा


ब्युटी न्युज नेपाल
नारायणघाट, ६ साउन

कस्मेटिक सम्बन्धि मल्टिनेशनल कम्पनी कलर इसेन्स, नेचर इसेन्सले चितवनको नारायणघाटमा ‘तीज रमाईलो भेटघाट कार्यक्रम २०७६’ आयोजना गरेको छ ।

चितवनको भरतपुरमा रहेको आचार्य ब्युटिपार्लर भरतपुर २२ की अध्यक्ष आनिता आचार्य, समु हर्वल ब्युटिपार्लर रिजाल चोक भरतपुरकी अध्यक्ष बालकुमारी रानाभाट र सोती ब्युटिपार्लर भरतपुर, चितवनकी अध्यक्ष सृजना सोतीको सहकार्यमा नारायणघाटमा रमाईलो तीज भेटघाट कार्यक्रम आयोजना गरिएको नेचर इसेन्स, कलर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेतीले जानकारी गराएका छन् ।

करिब पाँच घन्टासम्म चलेको सो तीज विशेष कार्यक्रममा सबैलाई स्वागत गर्दै नेपाली चेलिबेटीहरुको महान चाड तीजको अबसर पारेर सबैको जमघट र रमाईलोको लागि तीज दर कार्यक्रम राखिएको कन्ट्री म्यानेजेर रमेश उप्रेतीले बताए ।

हास्य अभिनेत्री पल्पसा डँगोल (चम्सुरी)ले सो कार्यक्रममा तीजका बिकृति बिसँगतिबारे प्रहसन प्रस्तुत गरिन् । आफैंले बजारमा ल्याउन लागेको एउटा हास्यप्रधान गीतमा उनले नृत्य गरिन् । कार्यक्रममा सहभागीहरु समेत पल्पसासँगै सो गीतमा छमछमी नाचेका थिए । उनको गीत तिमी जाने भट्टीमा…निकै रमाईलो थियो ।

यस्तै गायिका जुनु रिजाल काफ्लेले पनि आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् । उनले प्रस्तुत गरेको तीन ओटै तीज गीतमा पनि कार्यक्रममा सहभागीहरु छमछमी नाचेका थिए ।

कार्यक्रममा खुला नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । करिब एक घन्टासम्म चलेको सो नृत्य प्रतियोगितामा किशोरीदेखि ६० वर्ष नाघेका हजुरआमाहरुले समेत नृत्य प्रस्ततु गरेका थिए । खुला नृत्य प्रतियोगितामा उत्कृष्ट तीन जनालाई बिजेता घोषणा गर्दै विशेष पुरस्कार प्रदान गरिएको थियो ।

ब्युटिसियन क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका अग्रज व्युटिसियन तथा कलर इसेन्स, नेचर इसेन्सका सहयोगीहरुलाई सो कार्यक्रममा मायाँको चिनो सहित विभिन्न उपहार प्रदान गरिएको थियो । औपचारिक कार्यक्रमपछि चेलीबेटीहरुले सो कार्यक्रममा अबेरसाँझसम्म दर खाँदै नाचेर रमाईलो गरे ।