चलचित्र एकलब्यको ट्रेलर एक्सनयुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं २३ असार

घरायसी झगडाका कारण गत हप्ता भक्तपुरको घरमा रहेको निर्माता एवम् अभिनेता सोनाम थापामगरको घरमा उनकै सासुको हत्या भएको थियो । सो हत्यपछि यी अभिनेता तनावमा थिए । त्यो हत्यामा उनको पत्नी इश्वरी भट्टराई सहित अरु तीन जनालाई प्रहरीले पक्राउपछि अनुसन्धान गरिरहेका छ ।

सासुको किरयामा जुटेका अभिनेता सोनाम अहिले आफ्नो नयाँ फिल्म एकलब्यको प्रचारमा उत्रिएका छन् । उनको यो फिल्म आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

निर्माता अभिनेता सोनामले चलचित्र ‘एकलब्य’को ट्रेलर सोमबार दिउँसो सार्वजनिक गरेका छन् । यो ट्रेलरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको हो ।

अनमोल शर्माले निर्देशन गरेका चलचित्र एकलब्यको ट्रेलर एक्सन प्रधान रहेको छ । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचार जस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।

यसका निर्देशक शर्माका अनुसार एकलव्य समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित छ । चलचित्रको प्रदर्शनी मिति नजिकिँदै गर्दा निर्माणटिम फिल्मको प्रचारमा व्यस्त छ । यो चलचित्रमा सोनाम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

चलचित्र एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो ।

यो चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।

दुई साता अघि यो चलचित्रको ‘पूर्वै चल्नेया रेल…’को भिडियो रिलिज गरिएको थियो । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराएका छन् ।