सेन्सर पास भयो चलचित्र झमकबहादुर


व्युटी न्युज नेपाल
काठमाडौं, १६ साउन

केही दिनअघि चलचित्र ‘झमकबहादुर’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले रोकेको थियो । यो चलचित्रमा सुन तस्करीमा प्रोत्साहन गरिएकोे, अपराधलाई महत्व दिएको, प्रहरी प्रशासनलाई कमजोर देखाएको आरोपसहित सेन्सरले यसलाई रोकेको थियो ।

अन्तत सेन्सर बोर्डले चलचित्र झमकबहादुरलाई मंगलबार सेन्सर पास गरेको छ । निर्माण पक्षले यो चलचित्रको कथालाई प्रहरीले निर्माण गर्न दिएको स्वीकृति पत्र र सुन तस्करी दृश्यमा केही हेरफेर गरेपछि सेन्सर पास गरेको सेन्सर बोर्डका एक सदस्यले बताए ।

यसका निर्देशक भोमन कटुवालले व्युटी न्युज नेपालसँग यसबारे भने,‘चलचित्र झमकबहादुर पीजी (प्यारेन्ट्स गाइडेड) सर्टिफिकेटसहित सेन्सर पास भएको छ । अब दर्शकले यो चलचित्र हेर्न पाउनेछन् ।’
आफ्नो चलचित्रको कुनै पनि दृश्य नकाटिएको र केही ठाउँमा भएका अपशब्दलाई ’म्युट’ गर्दै प्रदर्शन अनुमति सेन्सरले दिएको पनि निर्देशक कटुवालले जानकारी गराए । झमकबहादुरलाई शुक्रबार १८ साउनबाट देशव्यापी प्रदर्शन गरिँदैछ ।

मिनकुमार तामाङ र कोपिला कुमारी डल्लाकोटीले निर्माण गरेको यो चलचित्रमा पवन गौतमको छायांकन छ । जसमा ओम सुनारको संगीत, राजु किरात राईको द्वन्द्व निर्देशन छ ।

चलचित्र ‘झमकबहादुर’मा अनुपविक्रम शाही, यादब देवकोटा (सरापे), राजु कमेडी, मिनकुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारको अभिनय छ ।