बाल चलचित्र भनिएको ‘रोल नं १’लाई पहिलो गाँसमै ढुँगा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ जेठ

बाल चलचित्र भनेर प्रचार गरिएको ‘रोल नं १’ का निर्माता र निर्देशक अहिले निकै तनावमा छन् । आफूहरुले सबैले हेर्न मिल्ने फिल्मको रुपमा रोल नं. १ बनाएको भनेर मख्ख परेका यसका निर्माता निर्देशकलाई केन्द्रिय चलचित्र जाँच समिति नेपालले लोप्पा खुवाईदिएको छ ।

निर्देशक जोन योञ्जनको यो चलचित्रलाई सेन्ट्रल फिल्म एक्जामिनेशन कमिटी (केन्द्रिय चलचित्र जाँच समितिले पिजी अर्थत १६ बर्षमुनीका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने सर्टिफिकेट दिएको छ । बालबालिकाको लागि भनेर बनाईएको यो चलचित्रमा केही हिंसात्मक दृष्य राखेपछि जाँच समितिले युनिभर्सलको सट्टा पिजी प्रमाणपत्र दिएको हो ।

यो समितिको सदस्यमा मनोज पण्डित आएपछि चलचित्रको कुनै पनि दृष्य नकाट्ने र त्यसलाई हेरेर सोझै बर्गिकरण सहितको प्रमाणपत्र दिने नियम ल्याएका छन् । सो नियमलाई वेवस्ता गर्दै युनिभर्सल प्रमाणपत्र पाउने विश्वास लिएका निर्देशन जोन र निर्माता विनोद पौडेल यति बेला आफ्नो चलचित्रले पिजी प्रमाणपत्र पाएपछि छाँगाबाट खसेजस्तै भएका छन् ।

यी दुईले सामाजिक सञ्जालमा रोइलो पनि नगरेको हैनन् । सुरुमा बुद्दी नपुर्याएका कारण जाँच समितिबाट पिजी पाएपछि अब यो रोइलो र सामाजिक सञ्जालको असन्तुष्टीको कुनै काम छैन । हुन त विनोदले सामाजिक सञ्जालमा जाँच समिति सदस्य मनोज पण्डितले ‘नयाँ जोगी’ पनि भनेको छैन । तर उनको रोइलो प्रति मनोजलाई कुनै मतलव छैन । समितिमा जस्तो चलचित्र आउँछ, त्यसलाई हेरेर सोही अनुसारको प्रमाणपत्र दिने नियमको पालना आफूहरुले गरेको भनाई मनोजको रहेको छ ।