ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० वैशाख
नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको लागि यही ३ जेठमा अधिवेशन हुँदै छ । ठुलो पर्दाबाट आफूलाई चिनाएकी र सानो पर्दाबाट स्थापित भएकी अभिनेत्री सुप्पा खनाल पनि यस पटक संघको केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेकी छिन् । अध्यक्षका उम्मेदवार बनेको अभिनेता सविन श्रेष्ठको प्यानलमा जोडिएर सुप्पाले केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी हुन् ।

सुप्पाको विगत फर्केर हेर्दा उनले यहाँसम्म आउन निकै ठुलो संघर्ष गर्नु पर्यो । उनी सानै देखि चलचित्र प्रति रुचि राख्थिन् । घर टेलिभिजनमा विभिन्न टेली चलचित्र एवम् चलचित्र आउँदा उनी पनि टिभीमा त्यसै गरी देखिन्छु भनेर आफ्ना रहरहरू सुनाउँथिन् ।
हो, काभ्रे जिल्लाको भकुन्डे बेसीमा सामान्य परिवारमा हुर्किएकी सुप्पा खनालको त्यो सपना साकार भएको छ । हुन त उनको स्कुल जीवन सामान्य तरिकाले चलेको थियो । स्कुलमा उनी सांस्कृतिक कार्यक्रममा आफूलाई कलाकारको रूपमा प्रस्तुत गर्थिन । त्यसपछि उनको कलेज जीवन सुरु भयो । कलेज यात्रामा कलाकार बन्ने उनको भोग अझ जाग्यो।
उच्च शिक्षा हासिल गर्नु त थियो नै । अर्को तर्फ कलाकार पनि बन्नु थियो । यही सपनालाई अठोटमा बदल्न २०६५सालमा उनी भकुन्डे बेसीबाट काठमाडौँ छिरिन् । त्यति बेला सुपा खनालको लागि काठमाडौँ चुनौतीको पहाड थियो । जहाँ सबै नयाँ थियो । तर तिमी आँट म पुर्याउँछु भने झैँ उनको भेट निर्देशन घनश्याम खतिवडासँग भयो । २०६६ सालमा घनश्यामले चलचित्र जय होस् निर्देशन गरे । जसमा राजेश हमाल, बिराज भट्ट, सुमिना घिमिरे, सौजन्य सुब्बा जस्ता चल्तीका कलाकार थिए । यस्ता स्टार कलाकारसँग यही चलचित्रबाट सुप्पाले आफ्नो कलाकारिता प्रारम्भ गरिन् ।

यो चलचित्रमा उनको भूमिका छोटै थियो । यसमा भएका स्टार कास्टबाट पनि उनले आफूलाई केही हदसम्म जय होसबाट चिनाउने अवसर पाइन् । यता उनको अभिनय यात्रा सानो पर्दातर्फ पनि लम्किँदै थियो । त्यसै बेला उनले कान्तिपुर टेलिभिजनबाट प्रसारित टेली सृंखला रिसानी माफबाट सानो पर्दाको यात्रामा पाइला राखिन् ।यसबाट परिचय स्थापित गरेपछि सुप्पाले गोलमाल, चुरीफुरी जस्ता हास्य सृंखलामा आफ्नो अभिनयलाई निरन्तरता दिइन् । यसरी एकै वर्ष सानो र ठुलो पर्दाबाट सुरु भएको सुप्पाको अभिनय यात्रा यो डेढ दशकसम्म पनि अविरल रूपमा अघि बढी रहेको छ । उनले विभिन्न चलचित्र र दुई दर्जन भन्दा बढी टेली सृँखलामा अभिनय गरिसकेकी छिन् ।
सुप्पा म्युजिक भिडियोमा पनि स्थापित मोडल हुन् । उनले मेलिना राईको गीत के छ माया…बाट म्युजिक भिडियो मोडलिङ सुरु गरेकी थिइन् । यसपछि उनले हाम्रो प्रेम कहानी…, मन बिग्रियो कान्छीको परेलाले…, नाचौँ न छमछमी…, मायामा व्यापार भो…, पलाईको खाट…, ठेकीमा मदानी…, हाँसो पनि तिम्रो धेरै मिठो…, पिपल बोटैमा…जस्ता थुप्रै गीतहरूको भिडियोमा अभिनय गरिसकेकी छिन् ।

अभिनयलाई नै मुख्य पेसा बनाएकी सुप्पा खनाल कला क्षेत्रको कमाइले जीवनयापन भइरहेको बताउँछिन् । अझ यो क्षेत्रमा श्रीमान र परिवारको साथ सपोर्टले अघि बढ्न निकै सहयोग मिलेको यी कलाकारको कथन छ ।
चलचित्र कलाकार संघमा आबद्ध कलाकारहरूको हक हित र संरक्षण लागि आफूले संघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको सुप्पाले बताइन् । अग्रजको सम्मानसँगै नयाँ पुस्ताहरूले चलचित्र कलाकारिता क्षेत्रमा बाँच्न सक्ने आधार खडा गर्न पनि आफू संघमा केन्द्रीय सदस्यको रूपमा उम्मेदवार भएको उनले बताइन् । आफूले जितेमा उनी कलाकारिता क्षेत्रमा रहेका समस्याहरूको पहिचान गरी समाधान गर्ने योजनामा छिन् । कलाकार संघको नियमअनुसार आबद्ध हुनसक्ने सदस्यहरूलाई आबद्ध हुन र उनीहरूको हकमा काम गर्न प्रोत्साहन गर्ने पनि अभिनेत्री सुप्पा खनालले बताइन् ।





