ब्युटी न्युज नेपाल
काठमाडौँँ, २९ वैशाख
नायकबाट निर्माता बनेको जितु नेपालले आफ्नो लगानीमा नयाँ चलचित्र ‘आइ एम जीत बहादुर’ बनाएका छन् । उनले आज आफ्नो नयाँ यस चलचित्रको पहिलो गीत सार्वजनिक गरेका छन् ।
आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र शिर्ष गीत ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा कैलाश खेरको स्वर रहेको छ। बलिउडका थुप्रै बिग बजेट सिनेमामा आफ्नो स्वर दिएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल कैलाश खेरले नेपाली सिनेमा ‘आइ एम जीत बहादुर’मा गाएको गीतले धेरै दर्शक श्रोताको मन जित्ने आशामा निर्माण टिम रहेको छ। सार्वजनिक गीतमा राज सिंह सिधु र जितु नेपालको शब्द रचना र संगीत बव एसएनको रहेको छ।
यस चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन्। केही समयअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । यसका साथै फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल,पवन खतिवडा ’बाबा’, बाल कलाकार साहरा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।
भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको यस फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ । सुभेन्दुकै कथा तथा निर्देशनमा बनेको ‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। अभिनेता जितु नेपालले तीन दशकभन्दा बढीको कलाकारिता यात्रामा दर्जनौँ चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरिसकेका छन् ।





