सुमन दाहाल/ब्युटी न्युज नेपाल
ल्याग्जिङटन(संयुक्त राज्य अमेरिका), २७ वैशाख
सम्बन्धबिच्छेद, पारिवारिक विघटन र व्यक्तिगत जीवनशैलीप्रतिको बढ्दो आकर्षणका बीच वैवाहिक सम्बन्धको दीर्घता र प्रतिबद्धतामाथि प्रश्न उठिरहेका बेला अमेरिकामा बसोबास गर्ने एक नेपाली दम्पतीले आफ्नो वैवाहिक जीवनको पच्चीसौँ वर्षगाँठ वैदिक विधिअनुसार पुनर्विवाह गरेर मनाएका छन्।
पच्चीसौँ वैवाहिक वर्षगाँठमा गरिएको यस्तो पुनर्विवाहलाई केवल उत्सव मात्र नभई सम्बन्धप्रतिको पुनःप्रतिबद्धता, पारिवारिक मूल्यको पुनर्स्मरण, वैदिक संस्कारको संरक्षण तथा समाजलाई सकारात्मक सन्देश दिने अभ्यासका रूपमा पनि हेरिएको छ। यस्ता कार्यक्रमले विवाहलाई केवल औपचारिक सम्बन्धभन्दा पर राख्दै सहयात्रा, विश्वास, सहनशीलता र उत्तरदायित्वको साझा प्रतिज्ञाका रूपमा पुनःस्थापित गर्ने सन्देश दिने गरेका छन्।

सन् २००१ मा काठमाडौंमा आयोजित “मिस्टर एण्ड मिस युनिभर्सिटी नेपाल” प्रतियोगिताबाट सुरु भएको परिचय पच्चीस वर्षपछि अमेरिकामा पुनः वैवाहिक समारोहसम्म आइपुगेको छ। पोखराबाट सहभागी भएका बिकास गौतम र काभ्रेबाट सहभागी भएकी रिना के।सी।ले आफ्नो वैवाहिक जीवनको रजत जयन्तीका अवसरमा अमेरिकाको म्यारिल्याण्ड राज्यस्थित हिन्दु–बुद्ध मन्दिरमा मे १०, आइतवारका दिन वैदिक विधिअनुसार पुनः विवाह सम्पन्न गरेका हुन्।
त्यतिबेला २१ वर्षीय बिकास गौतम “मिस्टर युनिभर्सिटी नेपाल” तथा १८ वर्षीया रिना के।सी। “मिस युनिभर्सिटी नेपाल” घोषित भएका थिए। प्रतियोगिताका क्रममा सामान्य चिनजानमा रहेका उनीहरूले सन् २००१ जनवरी २८ मा अमेरिकाको न्यूयोर्कस्थित म्यानहट्टन सेन्टरमा आयोजना गरिएको “मिस्टर एण्ड मिस युनिभर्सिटी वर्ल्ड ब्युटी पेजेन्ट” मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए। त्यो समय नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन अमेरिका पुग्नु आफैंमा ठूलो उपलब्धि र गौरवको विषय मानिन्थ्यो। उक्त कार्यक्रम “वर्ल्ड कल्चर एण्ड स्पोर्ट्स फेस्टिभल २००१” अन्तर्गत सम्पन्न भएको थियो, जहाँ २८ देशका प्रतियोगीहरूको सहभागिता रहेको थियो। सोही क्रममा उनीहरूको सम्बन्ध क्रमशः नजिकिएको बताइन्छ।

विश्वस्तरको उक्त प्रतियोगितापछि छोटो बसाइँमै नेपाल फर्कने योजना रहे पनि अमेरिकामा सँगै बिताएको समयले उनीहरूको सम्बन्धलाई नयाँ मोड दियो। प्रतियोगिताबाट सुरु भएको मित्रता क्रमशः प्रेममा परिणत भयो र त्यसपछि उनीहरूले संयुक्त राज्य अमेरिकामै विवाह गरेर संयुक्त जीवनयात्रा सुरु गरेका थिए। उनीहरूको वैवाहिक जीवनको सुरुवात प्रेमराज महतद्वारा कन्यादान सम्पन्न गराइएपछि भएको थियो र अहिले त्यसले पच्चीस वर्ष पूरा गरेको छ। गौतम दम्पतीका दुइसन्तान छोरा रिजेन गौतम र छोरी बेला गौतम छन्।
रजत जयन्तीको अवसरमा गरिएको पुनर्विवाह समारोहमा परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार समारोहलाई नेपाली संस्कार, पारिवारिक मूल्य र वैवाहिक प्रतिबद्धताको पुनःस्मरणका रूपमा आयोजना गरिएको हो।
पच्चीसौँ वैवाहिक वर्षगाँठमा वैदिक विधिअनुसार पुनर्विवाह गर्नु केवल औपचारिक कार्यक्रम मात्र नभई गहिरो सांस्कृतिक, आध्यात्मिक र पारिवारिक अर्थ बोकेको अभ्यास मानिन्छ। वर्षौँको सहयात्रापछि फेरि वैदिक विधिबाट एकअर्कालाई स्वीकार गर्नु सम्बन्धप्रतिको पुनःप्रतिबद्धताको सार्वजनिक अभिव्यक्ति हो। यसले विवाहलाई केवल कानुनी सम्बन्ध नभई संस्कार, धर्म र उत्तरदायित्वको बन्धनका रूपमा सम्मान गरिएको सन्देश दिन्छ। साथै, नयाँ पुस्तालाई वैदिक संस्कार, मन्त्र र दाम्पत्य जीवनको मूल्य हस्तान्तरण गर्ने अवसर पनि प्रदान गर्छ।
यस्तो पुनर्विवाहलाई धेरैले “प्रेमको पुनःसंस्कार”, “दाम्पत्यको रजत महोत्सव” वा “जीवनसाथीप्रतिको कृतज्ञताको पुनःघोषणा”का रूपमा समेत बुझ्ने गरेका छन्। वैदिक मन्त्र, अग्नि साक्षी र पूजाआजासहित सम्पन्न गरिने यस्ता कार्यक्रमले दाम्पत्य जीवनलाई सकारात्मक ऊर्जा, आध्यात्मिक शुद्धि र नयाँ आरम्भको प्रतीकका रूपमा प्रस्तुत गर्ने विश्वास गरिन्छ।
सामाजिक विश्लेषकहरूका अनुसार दीर्घ वैवाहिक सम्बन्धलाई सार्वजनिक रूपमा पुनःप्रतिबद्धता गर्ने यस्ता अभ्यासहरूले परिवार, सहअस्तित्व र सामाजिक उत्तरदायित्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने गरेका छन्। गौतम दम्पती अमेरिकाको म्यारिल्याण्डमा नेपाली समुदायका सफल व्यवसायी तथा सामाजिक रूपमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् र विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
पछिल्लो समय अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच वैवाहिक वर्षगाँठका अवसरमा वैदिक विधिअनुसार पुनः विवाह गर्ने अभ्यास विस्तार हुँदै गएको देखिन्छ। विशेषगरी, सन् २०२४ मा चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने र गीता गिरी लामिछानेले आफ्नो वैवाहिक जीवनको पच्चीसौँ वर्षगाँठका अवसरमा वैदिक विधिअनुसार पुनः विवाह गरेपछि यस्ता कार्यक्रमप्रति समुदायमा थप चासो बढेको बताइन्छ।




