ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ वैशाख
नेपाली चलचित्र ‘मालती मंगले’ले प्रदर्शनको दोस्रो दिनदेखि नै घरेलु बक्स अफिसमा उल्लेखनीय उछाल ल्याएको छ। गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्रले सुरुवाती शोमा सामान्य व्यापार गरे पनि शनिबार दिउँसोपछि भने दर्शकको अत्यधिक साथ पाउन थालेको हो। चलचित्र हेरेर निस्किएका दर्शकले सामाजिक सञ्जाल र प्रत्यक्ष रूपमा दिएको सकारात्मक प्रतिक्रिया तथा बलियो ‘माउथ पब्लिसिटी’का कारण अहिले देशभरका सिनेमा हलहरूमा दर्शकको चाप बढ्दो क्रममा रहेको छ।
चलचित्रप्रति दर्शकको बढ्दो आकर्षण बुझ्न शनिबार निर्माण टिम राजधानीका विभिन्न सिनेमा हलमा पुगेको थियो। निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसँगै कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकले ताली, हुटिङ र सिट्ठीमार्फत भव्य स्वागत गरेका थिए। कलाकारलाई प्रत्यक्ष भेट्न पाउँदा दर्शकको उत्साह अझ बढी देखिएको थियो।
चलचित्र हेरेपछि अधिकांश दर्शकले ‘मालती मंगले’लाई नेपाली मौलिकता र भावनाले भरिएको उत्कृष्ट चलचित्रको रूपमा प्रतिक्रिया दिएका छन्। कथावस्तु, संवाद र प्रस्तुतिले दर्शकलाई एकातिर भरपुर हँसाएको छ भने अर्कोतर्फ भावुकसमेत बनाएको प्रतिक्रिया प्राप्त भइरहेको छ। विशेषगरी वर्षा राउतको संवेदनशील अभिनय तथा विजय बराल र मेक्सम गौडेलको प्रभावशाली प्रस्तुतिको दर्शकमाझ व्यापक चर्चा भइरहेको छ।
निर्देशक प्रकु पाण्डेयको निर्देशनमा बनेको ‘मालती मंगले’ले दर्शकबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’को बलमा आगामी दिनमा अझ सशक्त व्यापार गर्ने निर्माण पक्षको विश्वास छ ।




