ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ बैशाख
षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा रिलिज गरिएको ट्रेलरले आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राख्दै कथा प्रस्तुत गरेको छ। अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिएकी छन्, जसले बादी समुदायकी महिलाको चरित्र निर्वाह गरेकी छन्। ट्रेलरमा उनीसँगै रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापा तथा नयाँ कलाकार प्रशंसा सुवेदी र विशाल देवकोटा पनि देखिएका छन्।
फिल्मले आमाको संघर्ष, जिम्मेवारी र सफलताको यात्रालाई उजागर गर्ने प्रयास गरेको छ। स्वस्तिमाले यो फिल्म आफ्नो करिअरकै विशेष काम भएको बताउँदै दर्शकले लामो समय सम्झिने विश्वास व्यक्त गरिन्। अभिनेता बानियाँका अनुसार कथा एक महिलाको जीवनका विभिन्न पक्ष—संघर्ष, बाध्यता र सफलताको मिश्रण हो, जसले आमाछोरीको सम्बन्धलाई गहिराइमा प्रस्तुत गर्छ।
यस फिल्ममार्फत निर्देशक यम थापा ले निर्देशन सम्हालेका छन्। उनले लामो समयदेखि मनमा बोकेको सामाजिक विषयलाई फिल्ममा उतारेको बताए। कथा विकासकै क्रममा षट्कोण आर्ट्ससँग सहकार्य भएको र त्यसैबाट ‘लालीबजार’ को निर्माण अघि बढेको हो। कार्यकारी निर्माता प्रदीप भट्टराई ले नयाँ निर्देशकलाई अवसर दिनु सही निर्णय भएको उल्लेख गरे।
फिल्मका गीतहरू ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ पहिले नै लोकप्रिय भइसकेका छन्। बर्दियाको राजापुरमा छायांकन गरिएको यो फिल्म आगामी वर्ष वैशाख १८ मा प्रदर्शनमा आउने तयारीमा छ। नयाँ कलाकारहरूको डेब्युसँगै अनुभवी टिमको सहकार्यले ‘लालीबजार’ प्रति दर्शकको अपेक्षा बढाएको देखिन्छ।



