ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ बैशाख
बहुप्रतीक्षित नेपाली चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो प्रदर्शन मिति औपचारिक रूपमा तय गरेको छ । बलियो कलाकार लाइनअपका कारण सुरुदेखि नै चर्चामा रहेको यो फिल्म अब तिहारको अवसर पारेर रिलिज हुने भएको छ । चाडपर्वको बिदालाई लक्षित गर्दै निर्माण टिमले दर्शकलाई आकर्षित गर्ने रणनीतिसहित मिति घोषणा गरेको हो ।
चलचित्रको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले गर्ने निश्चित भएको छ । प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार वितरण टिमसँगको सहकार्य र सल्लाहमै उपयुक्त मिति छनोट गरिएको हो । उनले राम्रो समय रोजिएकाले फिल्मले व्यावसायिक रूपमा पनि सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेका छन् ।
वितरक रोहित कट्टेलले पनि फिल्मप्रति उत्साह व्यक्त गर्दै यसको कन्टेन्ट र कलाकार चयनलाई मुख्य आधार मानेर वितरण जिम्मा लिएको बताएका छन् । उनका अनुसार तिहारजस्तो ठूलो चाडमा दर्शकले खोज्ने मनोरञ्जन ‘पाँच पाण्डव’ले दिन सक्नेछ र फिल्मले व्यावसायिक तथा कलात्मक दुवै सफलता हासिल गर्ने अपेक्षा गरिएको छ ।
निर्देशक वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा देखिनेछन् । साथै दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरीलगायत कलाकारहरूको पनि महत्वपूर्ण अभिनय रहनेछ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको ‘पाँच पाण्डव’ सामाजिक विषयवस्तुमा आधारित फिल्म हो । लेखक सुशील पौडेलले महाभारतका पाँच पाण्डवका पात्र र प्रतीकलाई समकालीन नेपाली समाजसँग जोडेर कथा तयार पारेका छन् । फिल्मको छायांकन झापा र काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ । निर्माण पक्षका अनुसार हाल झापामा इन्टेरियर दृश्य खिच्ने काम भइरहेको छ भने आगामी दिनमा अन्य स्थानमा पनि छायांकन अघि बढाइनेछ । श्याम तामाङको छायांकन रहेको यस फिल्मले नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।

