आमाछोरीको संघर्ष कथामा बनेको छ ‘लाजीबजार’– यम थापा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ बैशाख

षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको यस ब्यानरले नयाँ फिल्ममार्फत फरक विषयवस्तु प्रस्तुत गर्ने तयारी गरेको छ। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईको सहकार्यमा तयार भएको यो फिल्मप्रति दर्शकको अपेक्षा उच्च देखिन्छ।

यसपटक भने निर्देशनको जिम्मा प्रदीप भट्टराईले यम थापालाई सुम्पिएका छन्। फिल्मको कथा पनि थापाकै हो, जसले ‘रज्जा रानी’, ‘हुर्रे’ र ‘मेरी मामु’ जस्ता फिल्ममार्फत आफ्नो निर्देशन क्षमता प्रमाणित गरिसकेका छन्। ‘कोहिनूर’, ‘अञ्जिला’ र ‘परान’ जस्ता फिल्ममा पटकथाकारका रूपमा काम गरिसकेका थापाले ‘लालीबजार’ मार्फत आफ्नो अनुभूति र दृष्टिकोणलाई नयाँ ढंगले प्रस्तुत गरेका छन्।

फिल्मको कथा आमाछोरीको सम्बन्धमा आधारित रहेको बताइएको छ, जसले समाजको एक संवेदनशील पाटोलाई उजागर गर्ने प्रयास गरेको छ। निर्देशक थापाका अनुसार उनले लामो समयदेखि देख्दै आएको सामाजिक यथार्थलाई पर्दामा उतारेका हुन्। कथा विकासको क्रममा षट्कोण आट्र्ससँगको सहकार्यले फिल्म निर्माणको बाटो तय गरेको उनले बताएका छन्।

रोचक कुरा के छ भने, प्रारम्भमा निर्देशक थापाले आफूले निर्देशन गर्ने सोच बनाएका थिएनन्। उनी आफ्नो कथा अरू निर्देशकमार्फत प्रस्तुत हुने अपेक्षामा थिए। तर, निर्माण टिमकै प्रस्तावमा उनले निर्देशनको जिम्मेवारी सम्हालेका हुन्। फिल्मको पटकथा तयार भइसकेपछि छायांकन स्थल अवलोकनका क्रममा प्रदीप भट्टराईले ‘लालीबजार’ नाम प्रस्ताव गरेका थिए, जसलाई सबैले सहमति जनाएका थिए।

फिल्मको छायांकन बर्दियाको राजापुर क्षेत्रमा गरिएको छ, जसले कथालाई अझ जीवन्त बनाउने विश्वास गरिएको छ। फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गर्दैछन्। विशाल थिएटर पृष्ठभूमिका कलाकार हुन् भने प्रसंशा नयाँ पुस्ताकी उदीयमान कलाकारका रूपमा चिनिन्छिन्।

फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन्। प्राविधिक पक्षमा छायांकन सुशन प्रजापती, सम्पादन मित्रदेव गुरुङ, द्वन्द्व निर्देशन सम्राट बस्नेत र कला निर्देशन उमेश चौधरीको रहेको छ।

संगीततर्फ प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ। फिल्मका गीतहरू ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ पहिले नै सार्वजनिक भई दर्शकमाझ लोकप्रिय बनिसकेका छन्। समग्रमा ‘लालीबजार’ सामाजिक विषयवस्तुमा आधारित भावनात्मक कथा बोकेको फिल्मका रूपमा प्रदर्शनको प्रतीक्षामा रहेको छ।