केकी अधिकारीको चलचित्र ‘स्टेशन’को साइत जुराइयो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ बैशाख

अभिनेत्री तथा निर्मात्री केकी अधिकारी ले नयाँ चलचित्र ‘स्टेशन’ निर्माण सुरु गरेकी छन्। हालै अक्षय तृतीयाको अवसर पारेर ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको औपचारिक यात्रा अघि बढाइएको हो। कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको सहभागिता रहेको थियो।

चलचित्र ‘स्टेशन’लाई लिएर निर्माण टिमले अहिले नै धेरै विवरण सार्वजनिक नगरे पनि यसमा अभिनय गर्ने कलाकारबारे भने गोपनीयता कायम राखिएको छ। केकी स्वयं पर्दामा देखिने वा केवल निर्मात्रीको भूमिकामा रहने भन्ने विषय पनि अझै खुलाइएको छैन। यसले दर्शकमाझ थप उत्सुकता सिर्जना गरेको छ।

नयाँ वर्षको अवसर पारेर घोषणा गरिएको यस फिल्मको ‘थिम पोस्टर’ले सुरुवातदेखि नै चर्चा बटुलेको थियो। पोस्टरमा देखिएको पुरानो काठको दराज र रहस्यमय सामग्रीले कथा सामाजिक र भावनात्मक पाटोमा केन्द्रित हुने संकेत गर्छ। यसअघि २०८१ सालमा ‘बोक्सीको घर’बाट उल्लेखनीय सफलता पाएकी केकीले सोही टिमसँग पुनः सहकार्य गर्दै यो प्रोजेक्ट अघि बढाएकी हुन्।

फिल्मलाई सुलक्षण भारती ले निर्देशन गर्नेछन् भने कथा पनि उनकै रहेको छ। निर्माण पक्षमा बद्री अधिकारी जोडिएका छन्। छायांकन छिट्टै सुरु गर्ने तयारी भइरहेको छ।

प्रदर्शन मिति आगामी भदौ १९ गते तय गरिएको यस फिल्मले ‘बोक्सीको घर’ जस्तै सामाजिक विषयवस्तु उठाउने अपेक्षा गरिएको छ। त्यसैले ‘स्टेशन’लाई अहिलेबाटै एक प्रतिक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ।