ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ बैशाख
फिल्म ‘परालको आगो’को मार्मिक ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रतिको उत्साह र विश्वास थप बढेको छ। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलर बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। ट्रेलरले ग्रामीण परिवेशमा आधारित गहिरो सामाजिक कथा र पारिवारिक द्वन्द्वलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
ट्रेलरमा मुख्य पात्रका रूपमा सुहाना थापा र प्रकाश सपूतबीचको तनावपूर्ण वैवाहिक सम्बन्ध देखाइएको छ। घरभित्रको झगडा, भावनात्मक टकराव र त्यसले निम्त्याउने परिणामले कथा निकै मार्मिक बन्ने संकेत गर्छ। श्रीमतीलाई कुटेपछि खोज्दै हिँड्ने पात्रको मनोदशाले दर्शकलाई भावुक बनाउने देखिन्छ। त्यस्तै, छिमेकीको भूमिकामा देखिएका सौगात मल्ल र सिर्जना अधिकारीको जोडी सौहार्दपूर्ण र सन्तुलित देखिएको छ, जसले कथामा अर्को आयाम थपेको छ।
निर्देशक लक्ष्मण सुनारले फिल्ममार्फत ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, र समाजभित्र लुकेका मनोवैज्ञानिक द्वन्द्वलाई उजागर गर्ने प्रयास गरेका छन्। ट्रेलरमा प्रयोग गरिएको अँध्यारो पृष्ठभूमि र आगोको प्रतीकात्मक प्रस्तुति कथा गहिरो र संवेदनशील रहेको संकेत दिन्छ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बाँनियालगायत कलाकारको अभिनय रहेको छ। हरिओम् सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने कथा सुशील देवकोटाले लेखेका हुन्।
छायांकन संकल्प भुजेलले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठको रहेको छ। नृत्य निर्देशन रामजी लामिछाने, रंग संयोजन कनाल कँवर र पाश्र्व संगीत किरण तुलाधरले गरेका छन्। संगीततर्फ शान्ति ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतको योगदान रहेको छ भने गीत लेखन मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपूतले गरेका छन्।
फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने ओएसआरले यसको ओटीटी अधिकार लिइसकेको छ। उल्लेखनीय कुरा के भने, गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथामाथि यसअघि पनि ४५ वर्षअघि फिल्म निर्माण भइसकेको थियो।

