ब्युटी न्युज नेपाल
काठमाडौँ, २ बैशाख
नेपाली चलचित्र ‘पहाड’ले सबै उमेर समूहका दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्दै प्रदर्शनलाई उत्साहजनक बनाएको छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आएको हो । सुरुवाती दिनदेखि नै राम्रो ‘वर्ड अफ माउथ’ पाएको यो फिल्मले नेपाली समाजको यथार्थ चित्रणका कारण दर्शकको मन जित्न सफल भएको देखिन्छ।
निर्देशक तुलसी घिमिरेसहित कलाकारहरू विपिन कार्की, अरुण क्षेत्री, रेनुनाथ योगी र नव अभिनेत्री पञ्चमी घिमिरेले दिनभर हल भ्रमण गर्दै दर्शकको प्रतिक्रिया संकलन गरे। दर्शकसँगको यस्तो प्रत्यक्ष भेटघाटले फिल्मप्रतिको उत्साह अझ बढाएको देखिन्छ। ष्।िप् प्रदर्शनको पहिलो दिन निर्माण टिम स्वयं काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कारमा जुटेको थियो।
झन्डै नौ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक घिमिरेले प्राप्त प्रतिक्रियाले आफू निकै उत्साहित भएको बताए। उनका अनुसार फिल्मले उठाएको विषय दर्शकले सजिलै आत्मसात् गरेका छन्। “दर्शकले यसलाई आफ्नै कथा भनेर प्रतिक्रिया दिनुभएको छ, जुन मेरो लागि ठूलो उपलब्धि हो,” उनले भने। उनका भनाइमा फिल्मले सन्देश मात्र नभई भावनात्मक रूपमा पनि दर्शकलाई छोएको छ।
फिल्मको मुख्य विषयवस्तु बेरोजगारी, गाउँ खाली हुँदै जानु, तथा पहाडी क्षेत्रमा बढ्दो पानी संकट जस्ता समसामयिक मुद्दामा केन्द्रित छ। अभिनेता विपिन कार्कीका अनुसार यिनै यथार्थपरक विषयले दर्शकलाई हलसम्म तानेको हो। उनले भने, “दर्शकले फिल्म हेरेपछि अरूलाई पनि सिफारिस गर्ने विश्वास लिएको छु, जसले आगामी दिनमा दर्शक संख्या अझ बढाउनेछ।”
अभिनेता अरुण क्षेत्रीले पनि पहिलो दिनको उत्साहजनक उपस्थिति र हाउसफुल शोले आफूहरू उत्साहित बनेको बताए। उनले फिल्मले पहाडको प्राकृतिक सुन्दरता मात्र नभई त्यहाँको पीडा र यथार्थ पनि प्रस्तुत गरेको उल्लेख गरे। दर्शकले सबै उमेर समूहबाट सकारात्मक प्रतिक्रिया दिएको उनको अनुभव छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री तथा पञ्चमी घिमिरेको अभिनय रहेको छ। विशेषगरी पञ्चमी घिमिरेको अभिनयलाई दर्शकले न्यानो स्वागत गरेका छन्। दर्शकसँगको भेटमा उनले पाएको माया प्रति कृतज्ञता व्यक्त गर्दै आफू निकै भावुक भएको बताइन्।
भाग्यरत्न फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन तुलसी घिमिरेले गरेका हुन्। छायांकन प्रमोद प्रधानले गरेका छन् भने संगीत निर्देशन रञ्जित सिंह गजमेरको रहेको छ। साथै, प्रोडक्सन डिजाइन भावना घिमिरेले सम्हालेकी छन्। फिल्मलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गरेका छन्। समग्रमा ‘पहाड’ले समसामयिक सामाजिक विषयलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएको देखिन्छ।

